सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख (३.७१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ (०.८२ प्रतिशत) बजेट विनियोजन भएको मन्त्री रावलले बताए ।
बजेटामा सडक पूर्वाधार तर्फ ५ अरब ६० करोड ११ लाख विनियोजन गरेको बताए । प्रदेशमा सडक, पुल, झोलुंगे पुल निर्माणका लागि उक्त रकम विनियोजन गरेको छ ।
जसअन्तर्गत आगामी आर्थिक वर्ष २२ पुल निर्माण गरिने र प्रदेश गौरवका सडक निर्माण कार्यलाई तीव्रता दिइने मन्त्री रावलले बताए ।
यस्तै सञ्चार क्षेत्रका लागि सुदूरपश्चिम सरकारद्धारा १ करोड २० लाख रुपैया विनियोजन गरेको जानकारी दिए ।
उनले आम सञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफ एम रेडियोलाई पुजिगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न, लोक कल्याणकारी विज्ञापनका लागि उक्त रकम विनियोजन गरेको बताए ।
यो वर्षको बजेटमा खेलकुद संरचना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड रकम विनियोजन गरिएको छ । बजेटमा कञ्चनपुरको भीमदत्तमा बहुउद्देश्यीय कबर्डहल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कबर्डहल निमार्ण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सिँचाई र यान्त्रीकरणको लागि ७५ करोड विनियोजन गरेको छ ।
कैलालीको कैलारी गाउँपालिका २ मा वर्षौदेखि अलपत्र गुरगी सिँचाइ आयोजना र गौरीगंगा नगरपालिकास्थित खुरखुरिया सिँचाइ आयोजनामा ११ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा १ अर्ब १३ करोड रकम विनियोजन गरेको छ । जस अन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सिकलसेल लगायत विशेष रोगको उपचार गर्नुका साथै सुदूरपश्चिमका सबै अस्पतालमा टेलिमेडिसिन सेवा विस्तार गर्ने बताए ।
यस्तै प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासको लागि १ अर्ब २३ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशमा रहेका बादी समुदायका छात्राहरुलाई विद्यालय नियमित गर्न मावि सम्म प्रति महिना एक हजार रुपैयाका दरले छात्राबृत्ति प्रर्दान गरे योजना रहेको छ ।
प्रदेश सरकारले गरिब, विपन्न, शहिद बेपत्ता परिवारका बालबालिकाहरुके उच्चा शिक्षा अध्ययनकोलागि ३ करोड रकम विनियोजन गरिएको छ । साथै विद्यालयमा महिनावारी हुने बालिकाहरुको लागि हाईजिनिक सेनेटरी प्याडको व्यवस्था गर्न बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रबद्र्धनकालागि ३ करोड बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र लगायत अन्य धार्मिक क्षेत्रका लागि सो बजेट विनियोजन गरेको बताए।
सरकारले मोहना अत्तरिया ६ लेन सडकमा वृक्षारोपण गर्ने जनाएको छ । अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा निर्माणाधीन अवस्थामा रहेको सो सडकको लेन छुट्टाउने डिभाइडर निर्माण गरिएको क्षेत्रमा बिरुवा रोपिने जनाइएको छ ।
यस्तै मुख्य राजमार्गहरूमा सिसिटिभी र ट्राफिक लाइट जडान गर्न ४ करोड विनियोजन गरेको छ ।
वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक विकासको लागि ४ करोड १५ लाख रुपैया विनियोजन गरेको छ । जस अन्तगर्तत आन्तिरिक सुरक्षा, विपद व्यवस्थापन लगायत लैंगिक हिंसा न्यूनिकरणको लागि सो बजेट विनियोजन गरिएको बताए ।













