सुदूरपश्चिममा विपद न्युनीकरणका लागि पुर्व मनसुन तयारी कार्ययोजनाको ड्राफ्ट बन्दै
कैलाली । यस बर्षको मनसुन शुरु हुन लाग्दै गर्दा सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापनको पुर्व तयारी गर्न लागिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष अत्यधिक मनसुनी वर्षाको कारण बाढीपहिरो, डुबान र कटान हुने गरेको छ। गएको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिममा ५५ जनाले ज्यान गुमाएका थिए भने २६ जना बेपत्ता र १ सय २७ जना घाइते भएको सरकारी तथ्यांक छ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावमा कुनै पनि घटना घटेपछि उद्धार तथा राहतमा लाग्नुपर्ने तर जोखिम तथा क्षती न्यूनीकरणका लागि काम हुन नसक्ने अवस्था रहेको देखिन्छ।
तर यो पटक भने प्रदेश सरकारले विगतमा भएका कमजोरीलाई सच्याउदै सबै जिल्लाको तथ्य र तथ्यांको विश्लेषण गरि प्रदेश विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अन्तिम रुप दिन लागेको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद व्यवस्थापन सम्पर्क व्यक्ति लक्ष्मी प्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार विपद पुर्व तयारीका बारेमा छलफल र संघसंस्थाहरुसंग परामर्श समेत भईरहेको छ । काम कसरी गर्ने, श्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेपनि । विभिन्न निकायसंग छलफल र सहकार्य भईरहेको ।
उनले अहिले सम्म सुदूरपश्चिममा विपदको पुर्व तयारी तथा विपद पछि उद्धारका लागि के कति श्रोत साधान छ भन्ने एकिन तथ्याङ्क निकाल्न स्थानीय तहसंग माग गरिएको तर उपलब्ध नभएको उनको भनाई छ ।
‘विपद न्युनीकरणका लागि पुर्व मनसुन तयारी कार्ययोजनाको ड्राफ्ट बन्दैछ, असाढको पहिलो साता सम्म सो कार्ययोजना तयार हुन्छ होला, त्यस पछि पुर्व तयारीका लागि जुट्ने छौं ।’
यस अघि स्थानीय तहसंग समन्वय नहुँदा विपदका वेला स्थानीय श्रोतसाधनको परिचालन गर्न नसकिएको स्वीकार गरे ।
उनले आगामी दिनमा स्थानीय तह संग समन्वय गर्दै स्थानीय श्रोत साधनको बढी भन्दा बढी प्रयोग गरी विपद न्युनीकरण गरिने बताए । तर अहिले सम्म श्रोतको पहिचान भने भइनसकेको उनको भनाई छ ।
‘स्थानीय तहले दिने सूचनाका अधारमा एकिकृत श्रोतको परिचालन गर्नेगरी योजना तयार हुँदै छ, जोखिम क्षेत्रमा तत्काल उद्धारको लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोगलाई सम्झौता समेत भईसकेको छ ।’
उनले तत्कालै प्रकोप संभावित क्षेत्रमा पुर्व तयारीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने गरी संघ संस्थासंग सहकार्य भइरहेको बताए । मर्सिकोर, यूएन माईग्रेसन (आइओएम) लगायत अन्तराष्ट्रिय संस्थासंगको सहकार्यमा पुर्व तयारी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरी छलफल भइरहेको उनको भनाई छ ।
सचेतना कार्यक्रममा विपदबाट बच्न के–के गर्ने, सावधानीका उपाय कसरी अपनाउने, विपद आइहाले कसरी सुरक्षित बन्ने भन्ने बारेमा नागरिकलाई जानकारी गराइने कार्यक्रम रहेको छ । प्रदेश सरकारले नदीमा पानीको वहाव मापन गर्ने रेन गजको सूचना दिने स्वयंसेवकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको समेत बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले विपत जोखिमबाट विस्थापित भएकाहरुको तत्काल खाद्यन्न र राहतको लागि विश्व खाद्य कार्यक्रमसंग समन्वय भईरहेको छ ।
सरकारले विपद व्यवस्थापन कोषमा रु २५ करोड रुपैया जम्मा गरिसकेको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । साथै उद्धारको लागि रेडक्रस, यूनिसेफ लगायत संघसंस्थाहरुसंग समन्वय गरि ३०० वटा टेन्ट मौजात राखेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानी, सरसफाइ र पूर्वाधार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खाद्य सुरक्षा र पोषण, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले शीघ्र पुनरलाभको व्यवस्थापन गर्ने जिम्मेवारी बाँडफाँड गरिएको छ ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोज, उद्धार, आपतकालीन सञ्चार र बन्दोबस्ती गर्ने तथा अन्य सरोकारवाला पक्ष र निकायसँग समन्वय गरि विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ तयार गर्न लागेको जोशीले बताए ।
उनले विपद व्यवस्थापनका लागि सरोकारवाला पक्षका लागि पूर्वाभ्यास, तालिम र स्रोत व्यवस्थापन गरेर विपद न्यूनीकरण गर्न आवश्यक सबै तयारी गरिन लागेको जानकारी दिए ।













