‘प्रदेश सरकारले सहिद परिवारको हितमा नमूना काम के गर्यो देखाईदिनुस् ?’

कैलाली । नेकपा माओवादी पार्टी राज्य सत्तामा आईसकेपछि जनयूद्धको ईतिहासलाई विस्रिसकेको पार्टीका नेता तथा सांसदहरू आलोचना गरेका छन् ।

सुदूरपश्चिम सरकारका मुख्य मन्त्री नै नेकपा (माओवादी केन्द्र) का त्रिलोचन भट्टले समाल्दै आईरहेका छन् ।

शहीद जोखन रत्गैंया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठानले आइतवार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली तथा शहीद परिवारलाई सम्मान कार्यक्रममा प्रदेश सांसद वीरमान चौधरीले मुख्यमन्त्री भट्टको कार्यशैलीप्रति खुलेरै विरोध जनाए ।

उनले भने ‘माओवादीबाटै मुख्यमन्त्री बनेका भट्टले पार्टीको एजेण्डा र मुद्दालाई संस्थागत तथा उठान हुने कुनै पनि ठोस कार्य योजना छैन । आज बोल्नुपर्ने बाध्यता सिर्जना भएको छ ।’

उनले थपे ‘हामी बोलिरहेका छैनौँ, जनता बोलिरहेका छन् । बोल्नुपर्ने स्थिति छ, विचारविहीनहरू अगाडि आउँदैछन् । हामी जुन विचार र बाटोमा हिँडेका छौँ । त्यसमा अझै संघर्ष गर्न बाँकी देखियो ।’

उनले लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको अभ्यासको क्रममा गणतन्त्रलाई बिर्सने, गणतन्त्रको अभ्यासमा समावेशी समानता बिर्सेको बताए । ‘आज हाम्रो पार्टीको सरकार छ, सुदूरपश्चिम प्रदेश सरकारले यो ५ वर्षमा सहिद परिवारको हितमा के काम गर्यो, एउटा नमूना कार्यक्रम गरेको देखाइदिनुस् ?’

उनले भने ‘यहाँ शहीद परिवार बिरामी भएर मर्नुपर्ने अवस्था छ । सुखली डाई (शहीद जोख्खनकी आमा) बिरामी पर्नुभयो, सरकारसँग हातजोर बिन्ती गर्दा समेत एक लाख रुपैयाँसम्म दिलाउन सकिएन । यहाँ सबै शहीद परिवारको अवस्था एउटै छ । सत्तामा हामी छौँ तर उपचारको व्यवस्था खै ? बालबालिका पढाउनलाई छात्राबृत्ति खोई ।’ भन्दै मुख्यमन्त्री भट्ट माथि प्रश्न गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि ज्ञवालीले प्रदेश र केन्द्रमा आफ्नो सरकार हुँदा समेत शहीद, घाइते परिवारहरुलाई उपेक्षा भएको बताए । उनले राज्यसत्तामा रहेका सीमित मान्छेले मात्रै सुविधा भोग गरेको आक्रोश पोखे ।

उनले आफूहरुले लडेर ल्याएको शासन व्यवस्थामा शहीद र घाइते परिवारको सम्भार गर्ने कुरा हो । तर शहीद र घाइते परिवारको अवस्था कस्तो छ त ? कहिले आउने हुन् ती सम्मान र राहतका दिन ? सत्तामा हुँदा त आर्थिक सामाजिक, राजनीतिक र स्थास्थ्यमा पछाडी परेकाहरुलाई सेवा र अवसर आउने हो । तर यहाँ त टाठाबाठाले मात्रै राज्यसत्ताको फाइदा लिएको बताए ।

यस्तै पार्टीका केन्द्रीय सदस्य श्रवण भट्टराईले पार्टीले हजारौं सहिदहरुलाई डफ्नाएर थुप्रै हार व्यहोर्दै यहाँ सम्म आईसकेको बताए । उनले पार्टी सत्तामा आईसकेपछि विलाशीता तर्फ केन्द्रीय भएको आरोप लगाउँदै तिनै कार्यशैलीलाई सुर्धान जनताले चुनावी मात परिणामबाट चुनौति दिएको बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले १० वर्षे जनयूद्धबाट प्राप्त परिवर्तनहरुलाई जनताले उपभोग गरिरहेका छन्, तर त्यो बेलाको आन्दोलन र बलिदानलाई स्वीकार गर्न नसकेको बताए । उनले भने ‘हामी पनि सहिदहरुले देखाएको अधुरो काम गर्न चुक्यो । रचनात्मक काम गर्न सकेका छैन । अब संस्थागत विकास गर्न योजना बनाउँनु पर्छ ।’

कार्यक्रममा शहिद परिवार, पार्टीका नेता तथा कार्यकर्ता, गैरसरकारी संघसंस्था र पत्रकारहरुको सहभागिता रहेको थियो ।