कैलाली जिससमा माओवादीले नागरिक उन्मुक्ति र एमालेसँग सहकार्य गर्ने
कैलाली । कैलालीमा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा भएको गठबन्धन तोडेर नागरिक उन्मुक्ति र एमालेसँग सहकार्य गर्ने निर्णय गरेको छ । ३० बैशाखमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन थियो ।
माओवादीले यहि जेठ ३० गते हुने जिल्ला समन्वय समिति (जिसस) गठनमा नागरिक उन्मुक्ति र एमाले पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ । बिहीबार धनगढीमा बसेको माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एमाले पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको हो ।
एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्म पाठकका अनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने निर्णय भएको छ ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ । यहाँ स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमत भन्दा बढी हो ।
तीन दलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डित, केन्द्रीय सदस्य रमेश विक, रामलाल थारु र लालबीर चौधरी, नेकपा एमालेका कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही तथा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली र निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर लगायतको सहभागिता थियो ।













