औसत दरमा हेर्दा दैनिक ८ जनामाथि यौनजन्य हिंसा

काठमाडौं । यौनजन्य हिंसा र दुर्व्यवहारका घटना निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ।

यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० अर्थात दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको घटना अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत घटना बलात्कारको छ ।

प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका १ हजार १ सय ३१ र बलात्कार प्रयासका ५ सय ३६ घटना दर्ता भएका थिए।

यस्तै आव २०७४/७५ मा बलात्कारका १ हजार ५ सय १४ वटा घटना दर्ता भएकोमा जबर्जस्ती करणीका १ हजार ४ सय ८०, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १०, अपहरण तथा जबर्जस्ती करणीका २४ वटा थिए।