झण्डै साढे १२ हजारको मतान्तरसहित भरतपुरमा रेनु दाहाल विजयी
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा झण्डै साढे १२ हजारको मतान्तरसहित नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी दाहाल दोस्रो कार्यकालका लागि मेयरमा चुनिएकी हुन् ।
१० गते बिहान ८ बजे सकिएको अन्तिम मतगणना अनुसार दाहालले ५२ हजार ३० मत पाइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा दाहाल र सुवेदीबीच कडा प्रतिष्पर्धा देखिएपनि अन्तिमम्ममा भने दाहालले अग्रता कायम राख्दै आएकी थिइन् ।
कुल १ लाख २७ हजार ५०८ मत गणनामा दाहालले १२ हजार ४४९ मतान्तरले सुवेदीलाई पराजित गरेकी हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।
५२ हजार ८०३ मतसहित महानगरको उपमेयरमा अधिकारी निर्वाचित भएका हुन् । उनी पनि सत्ता गठबन्धनकै उम्मेदवार हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत ल्याएर पराजित भइन् ।
उनलाई नेकपा एमालेले साथ दिएको थियो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदान भएको ११ दिनपछि अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।













