धनगढीको मेयरमा हमाल र उपमयेरमा राना विजय

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजय भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हमालले २६ हजार ८६५ मत पाएर विजय प्राप्त गरेका हुन् । नेपाली काँग्रेसका नृपबहादुर १४ हजार ८१७ मत पाएका छन्।

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। हमालले वडलाई १२ हजार बढी मतले पराजित गरेका हुन्। यस्तै यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।

यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। ०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो। माओवादी केन्द्र ५ वडामा विजयी हुँदा एमाले भने २ वडामा मात्रै विजयी भएको थियो।