कैलारी गाउँपालिकामा यस्तो छ चुनावी एजेन्डा

कैलाली । कैलारी गाउँपालिकामा ६ जना अध्यक्षका उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु नौला एजेण्डासहित भोट माग्न घर दैलोमा व्यस्त देखिन्छन् । नेकपा माओवादी तर्फबाट लाजुराम चौधरी अध्यक्षका उम्मेदवार छन् ।

उनी स्थानीय सरकारको राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, यातायात, साँस्कृतिक, सामाजिक, भाषा, कला, संस्कृति, न्याय, रोजगार र शान्ति सुरक्षालगायत समग्र विकासको आधारभूत मान्यतालाई आत्मसाथ गरेको बताउँछन् ।

अध्यक्षका उम्मेदवार चौधरी कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास गर्ने, १५ वर्षमा आधुनिकीकरण गर्ने र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेकोछ ।

गाउँपालिकाभित्रका ग्राबेलयुक्त गाउँ बस्तीका मूल सडक÷बाटोहरु ४ वर्षभित्रै कालोपत्रे गर्ने, जनसमुदायबीचको अन्तरसम्बन्ध तथा कैलारी गाउँपालिकामा आमजनताका दैनिकी सहज र सुलभ बनाउन र यातायातमार्फत आयस्तर बृद्धि गर्न चक्रपथ (रिङ्ग रोड) दीर्घकालीन योजनालाई पाँच वर्षभित्रै स्तरोन्नतीसहित कालोपत्रे सम्पन्न गर्ने प्रतिवद्धता रहेको छ ।

चक्रपथ (रिङ्ग रोड)को दीर्घकालीन योजना अन्तरगत बसन्ता, मंझरा, टेंढी, गौरीगंगा, घुराहा नदीमा बन्ने पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले पाँच वर्षभित्रै कार्यान्वयन गरिने, डीपीआर भएको रामपुर–कटैनी नदीमा पुल, मंझरा–कटैनी नदीमा पुल, लक्कड कटैनी नदीमा पुल, लम्मीफाँटा–बेनौली जोड्ने झलारी पुल, सुर्मी–बनकट्टा जोड्ने झालारी पुल निर्माण गर्ने लगायतका विकासका एजेन्डा रहेको छ ।

यस्तै स्वास्थ्य, रोजगार, खानेपानी लगायत उच्च शिक्षा अध्ययनका लागि लक्षित वर्ग (शहीद÷वेपत्ता÷घाइतेका परिवार, कमैया, कमलरी, दलित, अति विपन्न तथा जेहेन्दार विद्यार्थी)लाई छात्रवृतिको व्यवस्था गर्ने ।

निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने, थारु मातृ भाषा शिक्षकहरुको सुविधा बृद्धि गर्ने, शिक्षकहरुलाई समर्थन पत्र उपलब्ध गराउने । साथै शिक्षकहरुको क्षमता विकासको तालिम सञ्चालन गर्ने, नमूना विद्यालयहरुको स्तरोन्नती गर्ने र थप नमूना विद्यालय बृद्धि गर्ने, गाउँपालिकाले विशेष क्षेत्र घोषणा गरेको सीमावर्ती गाउँहरु हौसलपुल, शिवरत्नपुर, मोहनपुर र भौगोलिक रुपले उपेक्षित देवीगञ्ज, सामरचौरा, सिमराना, पर्सिनिहिया पुरुवा गाउँमा विशेष प्याकेजको कार्यक्रम (अनुदान) लागु गरिने छ ।

कैलारी गाउँपालिकामा रहेका सम्पूर्ण मुक्तकमैया, सुकुमबासी, भूमिहीनहरुलाई जग्गाको लालपूर्जाको निस्सा वितरणको प्रक्रिया सुरुवात भइसकेकोले आउँदो आर्थिक वर्ष २०७९÷२०८० भित्रै लालपूर्जा वितरणको कार्य सम्पन्न गर्ने । स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यलाई निश्पक्ष, स्वतन्त्र, जनउत्तरदायी र छिटो छरिटो न्याय सेवा प्रदान गर्ने । साथै गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८ लाई प्रभावकारी कार्यान्वयन गरिने प्रतिवद्धता रहेको छ ।

यस्तै नेपाली कांग्रेसका तर्फबाट राजसमझ चौधरी पनि पालिकाका अध्यक्षको उम्मेदवार छन् ।

उनी कैलारी गाउँपालिकावासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोटसहितको समुन्नत र समृद्ध गाउँपालिका बनाउने प्रतिवद्धता गरेका छन् ।

सडकमा ग्राभेलिङ गर्ने, गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल गरिने, प्राविधिक शिक्षा सञ्चालन गर्ने, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सुत्करी भत्ता तीन सम्म सम्म मासिक तीन हजारका दरले उपलब्ध गराउन्े प्रतिवद्धता रहेको बताए ।

उनले संचार क्षेत्रको विकास एवं विस्तारका लागि स्थानीय संचार नीति बनाई विज्ञापन, सूचना, संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गरिने, कैलारी गाउँपालिकाका भित्र ठूला योजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गरिने प्रतिवद्धता छ ।

कृषि उत्पादनलाई बढावा दिन उन्नत बीऊ बिजन, उन्नत पशुपालनका लागि योजनाबद्ध रुपमा कार्य अगाडि बढाउने, वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा, सूचना र सञ्चारलाई नागरिकको पहुँचमा पु¥याउन आवश्यकता अनुसार टेलिभिजन, एफएम तथा पत्रपत्रिका, अनलाइन सञ्चालकलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता रहेको छ ।

यस्तै राप्रपाका तर्फबाट पालिका अध्यक्षका उम्मेदवार बनेका होम गुरुंगले सडक, शिक्षा, खेलकूद, कृषि, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी मुद्दा बनाई प्रचारप्रसारमा जुटेका छन् ।

‘धेरै उम्मेदवारका पुरानै चुनावी मुद्दा रहेका छन’, कैलारी गाउँपालिकाका स्थानीय पुजा चौधरीले उम्मेदवारले ल्याएका चुनावी मुद्धा सबैको एउटै एजेन्डा रहेको बताईन् । उनले भनिन् हाम्रा नेताहरुले भौतिक पुर्वधारका मुद्धालाई अगाडी सारेपनि ति योजनामा जनताको पहुच हुने कि न हुने भन्ने विषयमा चिन्तित भएको देखिएन ।

कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र हो तर यस क्षेत्रको थारु मौलिकतालाई संरक्षण गर्ने ठोस एजेण्डा देखिएन । उनले भनिन् ‘नेपाली काँग्रेस र राप्रपाका पार्टीको एजेण्डामा सुत्केरी महिलालाई मासिक ३०० हजार रुपैया भत्ता दिने उल्लेख भएको छ । के अब महिला सुत्केरी भत्ताको लागि बच्चा जन्माउने हो ? यो एजेण्डाले महिला बच्चा जन्माउनकै लागि प्रोत्साहन गरे जस्तो भएन र !’ भन्दै प्रतिप्रश्न गरिन् ।

यस्तै अर्का स्थानीय कविता चौधरी भन्छिन् ‘सबै पार्टीको एजेन्डा हेर्दा भौतिक विकासलाई मात्रै जोड दिएको छ । तर पहिलो प्राथमिता किसानको मुद्धा हुनुपर्ने हो । किनकी यस क्षेत्रका जनता खेतिमा आधारित छन् ।’

पालिकामा जम्मा हजार ३६ हजार ७३५ मतदाता रहेका छन् । यस यहाँ ९७ प्रतिशत थारु समुदायको बसोबास रहेको छ ।