आगलागी बस्ती प्रदेश सरकारले निर्माण गरिदिने

कैलाली । आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार वस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् । उनले चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरि आउँदो आर्थिक वर्ष २०७९÷०८० देखि बस्ती निर्माण गरिने बताए ।

प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत अग्नि पीडित मुक्तकमैयाका बस्ती निर्माण गरिने मन्त्रीले प्रतिवद्धता जनाए ।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आगलागि बस्तीमा आयआर्जनको कार्यक्रम पनि प्रदेश सरकारमार्फत सञ्चालन हुने बताए । उनले यहाँका मुक्तकमैयाहरु अझैसम्म जग्गाको लालपूर्जासमेत नपाएकोले यसै ठाउँको लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताईन्

प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । त्यस्तै, बर्खे खेतीको लागि धानको बीउ निशुल्क दिने र घर बनाउनलाई काठ पनि निःशुल्क दिने मन्त्री चौधरीले जानकारी दिइन् ।

वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भयो । उक्त बस्तीमा ७१ घरधुरी थियो । बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका नष्त भएका थिए ।

आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन् । १२ घर आंशिक रुपमा जलेका छन्, भने ३२ घरमा सामान्य क्षति भएको गाउँका भलमन्सा हिंगुराम चौधरीले जनाए ।

भलमन्सा हिंगुराम चौधरीको नेतृत्वमा शुक्रबार बस्तीका अग्नी प्रभावितहरुले उचित व्यवस्थापनसंगै बस्ती पुर्नःनिर्माणकालागि ज्ञापन पत्र समेत बुझाएका थिए ।

खानेपानीको हाहाकार

विपतपुर मुक्त कमैया शिविरमा पिउने पानीको हाहाकार भएको छ । आगलागीले गाउँमा भएका नलमा क्षति पु¥याएपछि पिउने पानीको हाहाकार भएको भलमन्सा चौधरीले बताए । उनका अनुसार आगोले कुनै नल जलेका र कुनै नलको मुहान नै सुकाएपछि पानी आउन छाडेको छ । प्रचण्ड गर्मीमा बस्तीमा पिउने पानीको काकाकुल भएपछि झनै समस्या भएको उनी बताउँछन् ।

खानेपानीका लागि गाउँपालिका लगायत विभिन्न संघसंस्थाले उच्च नल्का, सिलिण्डर सिस्टम लगायतका खानेपानीको व्यवस्थापन गरेको थियो । तर आगो लागेपछि पानीको मुहान नै सक्यो कि भन्ने शंका छ । नलको समान्य मर्मत गर्दा पानी आएन । भलमन्साले भने । उक्त गाउँमा अहिले ३ वटा नल मात्रै चालु अवस्थामा छ । बाकी १२÷१३ वटा नलबाट पानी आउँदैन ।

टुक्रे राहत भन्दा बास व्यवस्थापनको जरुरी

विपतपुर मुक्त कमैया शिविरका आग्नी प्रभावितहरु अहिले टेन्टमूनी रात कटाईरहेका छन् । आगलागीको खबर पाएपछि वरिपरिका गाउँका भल्मन्साहरु अ–आफ्नो गाउँबाट दाल, चामल, गहुँ, नुन तेल लगायतको सामाग्रीहरु जोहो गरि सहयोग गरिरहेका छन् ।

उक्त बतस्तीमा दैनिक जासो संघसंस्थाले पनि खद्यन्य लत्ताकपडा लगायतको सामाग्री सहयोग गर्दै आएको बस्तीको भल्मन्सा बताउँछन् । उनले आफूलाई टुक्रे राहत भन्दा बास व्यवस्थापनमा सहयेग गरिदिन सबैमा अनुरोध गरे ।

उनले भने ‘हामीलाई तत्काल पुग्ने राहत जुटिसकेको छ । सहयोगीले उपलब्ध गराएको खाद्यन्नले हामीलाई केही दिन पुग्छ तर बस्ने व्यवस्था तत्काल चाहिएकोले सबैले मिलेर बस्ती घर निर्माणमा सहयोग गरिदिनु पर्यो ।’

उनका अनुसार टेन्ट मूनि बस्न एकलमै सकस भईरहेको छ । दिउसो गर्मीले बस्न सक्दैनौं, राती किराले टोकेर बस्न सकिन्दैन । वर्षापनि नजिकै आईसकेकोले सानो तिनो छुपडी बनाउनमा सबैले सहयोग गरिदिन गाउँबासीको अनुरोध छ ।