अग्नी पीडितको पीडाः जति कमाएका थियो सबै धुवाँ बन्यो
कैलाली । सोमबार विहानै गाउँभरिका मान्छे अ–आफ्नै आगनमा रसाएको आँखा लिएर तोलाई रहेका थिए । कोही जलेर बाँकी रहेका धान गहुँ स्याहार्दै थिए त कोही स सानो आगोको झिल्को निभाईरहेका थिए । यो दृष्य हो कैलारी गाउँपालिका वडा न. ७ मिलनपुर÷विपतपुर मुक्त कमैया शिविरको ।
उक्त बस्तीमा आईतबार दिउँसो १२ बजेतिर भएको आगलागी झण्डै ४ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । गाउँको छेउमै रहेको खेतमा गहुँको नाल जलाउनलाई लगाइएको आगो सिंगो गाउँलाई नै खरानी बनायो ।
बस्तीका ३८ वर्षीया जानकी चौधरीको घर जलेर केही बाँकी रहेन । उनका शरिरमा लगाइएको लुगा बाहेक सबै खरानी बन्यो । गाउँमा आगो लाग्नु भन्दा अगाडी खेतको आगो निभाउन पुगेकि उनी हेर्दा हेर्दै हावाको बेगसंगै आएको आगोको ज्वालाले आफ्नै घर सखाप पारेको बताउछिन् ।
उनी रुदै भन्छिन् ‘घरमा केही बाँकी रहेन, थोपा थोपा गरि जोहो गरेका सम्पति मिनेटकै भर खरानी बन्यो । छोरा छोरीको किताब काँपी त के आफ्नो औषधीपनि बचाउन सकिएन ।’

उनलाई पाठेघरको समस्या छ । असार महिनादेखि नियमित रगत बगेकै बगेछ । महिनै पिच्छे औषधीपनि गरेको तर सन्चो भएको थिएन । उनी भन्छिन् ‘औषधीको झोलामा दुई प्याकेट सेनेटरी प्याड र कट्टु थियो, त्यो झोला मात्रै बचाउन सकेपनि धेरै रहत हुन्थ्यो ।’
उनले लगाएको कपडा रगतले लटपटिएका थिए, तर फेर्नलाई अर्को कपडा थिएन । आँखा भरि आँशु लिएर श्रीमान जोहारीलाल संग भलाकुसारी गर्दै थिईन् ‘यो विपत्तिले हाम्रो सम्पति मात्रै किन लग्यो, हामीलाई पनि लैजानु पर्ने नि ?’
उनको श्रीमान श्रीमतिको उपचारको लागि नियमित मजदुरी गर्छन् यहि १३ गते भारतको पिलिभिटमा उपचार गर्न जाने भनेर भरखरै गँहु बेचेका थिए । उपचारको लागि जोगाएर राखेको ५६ हजार रुपैया र जागृति महिला समुहको २९ हजार रुपैया पनि जलेर नस्ट भयो ।
‘ठूलो अस्पताल जाने सपना धुँवा संगै उड्यो, अब उपचार कसरी गर्ने । पेटको जोहो गर्ने कि औषधी किन्ने भन्दै भक्कानिएर रोईन् ।’ उनको छोरी देविका चौधरी कक्षा १० मा अध्ययनरत छिन् । उनी परिक्षा दिएर घर पुग्दा घर नै थिएन ।
उनका किताब कपी लट्टा कपडा सबै जल्यो, स्कुल ड्रेस बाहेक लगाउने कपडा छैन । जानकीले आफ्नो छोरीलाई पल्लो गाउँको साथीको घरमा जान आग्रह गरिन । उनको छोरी साथीसंग बसको छ ।
कल्पना चौधरीको घरपनि पुरै सखाप भएको छ । उनी आफ्नो घर हेर्दै रुन्छिन् र भन्छिन् ‘यो विपत्तिले हामीलाई पागल जस्तै बनाएर गयो । कोरोना लागेर धेरै मान्छे मरे, त्यहि बेला मरेको भए यो दिन देख्न पर्दैन थियो ।’

घरमा अन्न छैन, शरिर ढाक्ने कपडा छैन । रेडक्रसको राहतमा थानको कपडा आयो, त्यो कहिले सिलाएर लगाउने हो । हामीलाई पुरानो भएपनि एक एक जोडा रेडिमेट कपडा दिए अभारी हुन्थ्यो ।’
उनी भन्छिन् ‘आगो निभाउदा निभाउदै रात कटेको पत्तै भएन । विहान उठ्दा घरमा केही छैन । मन थाम्नै नसकिने पीडा भयो । आगोमा हाम फालेर मरेपनि हुने थियो जस्तो भईरहेछ ।’ उनी अहिले ३५ वर्षकी पुगिन् तर आफ्नो जिवनमा पहिलो पटक यस्तो आगो देखेको बताउछिन् ।
सगनी चौधरी गाउँमा आगो लागेपछि आफ्नो घरभित्रको महत्वपूर्ण कागजात लट्टा कपडा भगाउन सफल भईन् तर घर जल्नु भन्दा अगाडी नै समानमा आगो समात्यो । आगोको रापसंग लुकामारी खेल्दै निकालेको समान खरानी हुँदा मेहनमा पानी हाले जस्तै भयो ।
उनको अनुहार आगोको रापले डढेको छ, सहयोगको गुहार माग्दा माग्दै अवाज पनि भाषिएको छ । उनी भन्छिन् ‘उनी भन्छिन् श्रीमान श्रीमति दुबै जना मजदुरी गएका थियो । गाउँमा आगो लागेको खबर पाउँदा दौडिदै आएर सरसमान भगाउनमा लाग्यो मेहनत मात्रै खेर गयो ।’
उनका छोरा बुहारी पनि ईटा भट्टा मजदुरी गर्न गएका थिए । आगोले सबै केही नबचाएर लग्यो । सोही गाउँका विपत कुमारी आगो लागेको शुरुमा थाहा पाईन् । उनी आफ्ना श्रीमान अर्जुनलाई गाउँमा जानकारी गराउन पठाईन् र आफू बाल्टिनको पानी लिएर खेतको आगो निभाउन दौडिन् ।

बाल्टिनको पानी हाल्न नपाउँदै आगोको ज्वाला उनको घरमा समात्यो । उनी चिच्याउदै गुहार मागिन् हेर्दा हेर्दै सबै सखाप भयो ।
‘भाग्ने क्रममा लगाएको सुरुवालमा आगो समात्यो, सुरुवाल त्यहि खोले र टाउँकोमा बाधेको पछ्योरी बेरेर भाग्न सफल भए । बाहिर आएर अर्काको आगनमा सुकाउन लगाको कपडा लगाए ।’ उनको खुट्टा आगोले पोलेर हिड्न नमिल्ने भाछ ।
उनले घरमा भएका टेलिपावर, ४ वटा गोरु, १ बंगुर सबै जलेर नस्ट भए । अघिल्लो दिन गहुँ बेचेर ल्याएको ३० हजार रुपैयापनि जलेको बताईन् ।
उनी भन्छिन् छोरा परिक्षा दिएर आउँदा घर जलेको देख्यो, आफ्नो किताब सम्झदै खुव रोयो । केही पनि बचाउन सकेनौं, जति कमाएका थियो सबै धुवाँ बन्यो ।
वडा कार्यालयको तथ्यांक अनुसार ७१ घरधुरीमा आगलागी भएको छ । जसमा पूर्ण क्षति ४४ घर र आंशिक क्षति २७ घरधुरीमा भएको छ । ७ वटा ठूलो बंगुर जलेका छन् भने २५ वटा पाठा ६ वटा गोरु १२ लाख रुपैया नगद र १५ टोला सुन चाँदी जलेर नष्ट भएको रिर्पोटमा उल्लेख छ ।

त्यसै गरि टेलिपावर २ वटा, डल्लप ८ वटा, इन्जन १३ वटा, सिचाई मोटर १ र सोलारपावर ४३ वटा जलेको तथ्यांक छ ।
कैलारी गाउँपालिकाको कार्यालयले अग्नी प्रभावित मुक्त कमैयाका लागि सोही दिन राती राहत सामग्रीमा झुलससहित तत्कालका लागि औषधि, सुख्खा खाना, प्रति परिवारलाई एक÷दुई छाक हुने गरी चामल पठाइएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
‘सोमबार केही दिनलाई पुग्ने गरी चामल उपलब्ध गराई समुहमा खाना खानेगरि वातावरण मिलाएका छौं ।’ प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रहेको त्रिपाल पनि उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए ।
यस्तै, नेपाल रेडक्रस पनि गैरखाद्य सामग्री लिएर आगलागी भएको बस्तीमा पुगेका छ । रेडक्रससंग रहेको भाँडाकुँडा, मेट्टेस लगायतका दिएको रेडक्रस कैलालीका चेतन खड्काले जानकारी दिए ।













