कैलालीमा चुनावी तालमेलको विषयमा सहमति, यस्तो छ भागबण्डा
कैलाली । कैलालीमा सत्तारुढ ३ दलीय गठबन्धनबीच सहमति भएको छ । लामो छलफलपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा सहमति गरेका हुन् ।
आइतबार अबेर राति भएको सहमति अनुसार ६ पालिका प्रमुख नेपाली कांग्रेस, ४ पालिका प्रमुख माओवादी केन्द्र र २ पालिका प्रमुख एकीकृत समाजवादीले पाउने गरी सहमति भएको हो ।
१३ स्थानीय तह रहेको कैलालीमा धनगढी उपमहानगरपालिकामा यसअघि नै कांग्रेसले प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले पाउने गरी सहमति भइसकेको छ । अब कांग्रेसले ७ पालिकामा प्रमुख पाउने भएको हो ।
टीकापुर र लम्कीचुहा नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख, गोदावरी नगरपालिकामा कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने भएको हो । बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने भएको छ ।
गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेस उपप्रमुख पाउने भएको छ । घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा एकीकृत समाजवादीले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने सहमति भएको छ ।
त्यस्तै, २०७४ को निर्वाचनमा कांग्रेसले जितेको वडामा काँग्रेसले र माओवादी केन्द्रले जितेको वडामा माओवादी केन्द्रले अध्यक्ष पाउने गरी उम्मेदवारी दिने र एकीकृत समाजवादीले सनाखत र समर्थन गरेका वडामा उक्त दलकै वडाध्यक्ष हुने सहमति भएको बताइएको छ । त्यस्तै स्थानीय आवश्यकताको आधारमा गठबन्धनमा आवद्ध दलहरूको तर्फबाट १र१ जना सदस्य पदमा सम्बन्धित दलकै चुनाव चिन्हमा उम्मेदवारी दिने सहमति भएको छ ।
गत निर्वाचनमा नेकपा एमालेले जितेको २४ वडाहरूमा तीनै दलले ८र८ वटा वडा लिने सहमति गरेका छन् ।














