लागुऔषधको प्रयोगकर्ताभन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही गर्छौ : एसपी राठौर
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले लागुऔषधको प्रयोगकर्ताभन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही गर्ने बताएका छन् ।
बुधबार पत्रकार सँगको परिचयात्मक कार्य उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अपराध नियन्त्रण र अनुसन्धानमा ध्यान दिँदै लागुऔषध नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
‘कार्यालयको नेतृत्व सम्हालेको आज तीन दिन मात्रै भएको छ । यसो बुझ्दा यहाँ लागुऔषधको कारोबार बढी छ भन्ने सुनिएको छ,उनले भने, ‘अब मैले यो जिल्लाको जिम्मेवारी सम्हालि सकेको छु । यहाँको शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल सरकारले प्रहरी ऐन २०१२ बमोजिम दुई वटा जिम्मेवारी दिएको छ। जुन अपराध नियन्त्रण र अनुसन्धान हो । हाम्रो उद्देश्य पनि यही हो । जिल्लामा अपराध नियन्त्रण गर्ने र अनुसन्धान गर्ने नै मेरो योजना हो ।’
‘लागुऔषध प्रयोगकर्ता आफैमा पीडित हुन् । सेवनकर्ताले आफ्नो जीवन पनि जोखिममा राख्छ । परिवार पनि पीडामा हुन्छ । सामाजिक रुपमा पनि अपहेलित हुन्छ । परिवारलाई आर्थिक समस्या पनि हुन्छ । त्यसकारण यो नियन्त्रणमा घरबाटै सुरुवात गर्न आवश्यक छ । प्रहरीले नियन्त्रण त गर्छ । कानुन अनुसार अनुसन्धान र कारबाही पनि गर्छ । तर, त्योले मात्रै समस्या समाधान हुँदैन । आगामी दिनहरूमा हामी सेवनकर्ता भन्दा पनि डिलरलाई बढी फोकस गर्छौ ,’ उनले भने ।
कैलालीका एसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय काठमाडौँले अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काज सरुवा गरेपछि प्रहरी प्रधान कार्यालय काठमाडौँ नक्सालबाट राठौरलाई उनको ठाँउमा पठाइएको हो ।













