‘चुनाव सफल पार्न सकारात्मक सन्देश प्रवाह गरौं’

कैलाली । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले स्थानीय तहको चुनाव सफल पार्न सकारात्मक सन्देश प्रवाह हुने सामाचार प्रकाशन तथा प्रसारण गरिदिन सञ्चारकर्मीहरुसंग आग्रह गरिन् ।

निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको मिडिया अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । आयुक्त तुलाधरले निर्वाचन सफल पार्नमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तयार छ । उनले बदर मत सङ्ख्या घटाउनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर जनताको हितमा सूचना सम्प्रेषण गर्न आग्रह गरे । सञ्चार माध्यमबाट मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको सन्देश फैलाउने जस्ता काममा पत्रकारहरु गग्रणी भूमिका निभाउन सक्ने बताए ।

कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रको बारेमा जानकारी गराएका थिए । उनले स्थानीय तहको निर्वाचन निर्देशिका अनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको बताए । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छपाइ भएको छ’, उनले भने ।

यस्तै नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरीले पत्रकारहरु कुनै दलको कार्यकर्ता नभई पत्रकारिताको आचारसहिंतामा रहेका कलम चलाउन अनुरोध गर्दै पत्रकारहरु चुनाव अवधिभर मतदाता र दलबिच पुलको काम गर्नुपर्ने बताए ।

उनले कैलालीका लागि दुई लहरको चुनाव चिन्ह रहेको मतपत्र रहने बताए । कार्यक्रममा कैलालीका पत्रकारको सहभागिता रहेको थियो ।