डडेल्धुरा र डोटीमा ट्रायल सेन्टर सुरु गर्ने प्रदेश सरकारको निर्णय
धनगढी, १७ चैत । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाका लागि डडेल्धुरा र डोटीमा ट्रायल सेन्टर सुरु गर्न सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ।
सरकारका प्रवक्ता कानून मन्त्री पूर्णा जोशीले मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकरी दिए । दुवै जिल्लामा स्थापना गरिएका भौतिक यातायात व्यवस्था सेवा कार्यालयमार्फत मोटरसाइकल तथा जीपको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरी पूर्णरूपमा सेवा बिस्तार गर्ने निर्णय भएको छ ।
यस्तै डोटी र डडेल्धुरा यातायात सेवा कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरिएको छ। उक्त निर्णय भएसँगै सेवा कार्यालयमा कर्मचारीको आवश्यक दरबन्दीको व्यवस्थापन हुनेछ ।
ट्रायल सेन्टर सुरु भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकले तराईका जिल्ला कैलाली र कञ्चनपुर आएर नयाँ सवारी चालक अनुमती पत्र निकाल्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।













