सडकको भाषा
मातृभाषामा मुस्कुराउन जानेको भएर
सानो छँदा
कक्षाकोठाको लास्ट बेन्चमा
बस्नुपरेको अनुभव छ मसंग ।
सत्ताको प्रणालीको ढाँचा भित्र
आफूपनि समेटिन
भाषा अवरोधको सामना
प्रयत्न गरेको अनुभव पनि छ मसंग ।
सत्ताको एकल भाषालाई मनमानी व्यवस्थित गर्न
सिपाहीको सशस्त्र शक्ति
र
शिक्षकको ज्ञानले स्थिरता प्रदान गर्न
जबरजस्ता रुपमा
म माथि लादिएको भाषा
बोल्न खोजे जब
अब मेरो थारु टोन फुस्किन्छ
अब मेरो थारु टोन फुस्किन्छ को डरैडरमा
जब
मेरो अर्गानिक लवज फुस्कियो
सत्ताधारीहरुको भाषाका नातेदारहरुले
मलाई मजाक बनाए ।
मेरो भाषालाई सताइरहेको सत्ताले
आंग छोप्ने मेरो लेहेंगा र फरिया
पेट भर्ने मेरो ढिक्री र खरिया
सबै सबै माथि नियन्त्रण गरेपछि ।
सिके मैले सडकको भाषा बोल्न ।
सडकको भाषाले मभित्र
आश्चर्यको आत्मविश्वास दिलायो
आफ्नो स्वनिर्माणमा गौरवान्वित बनायो ।
र सिकायो सत्तालाई सडकबाट हाकाहाकी हाँक दिन ।
अनि म हौस्सिए सडकको भाषा बोल्न ।
सडकको भाषा सबसे ज्यादा
खतरनाक हुन्छ साथी
यो जतिको पेचिलो अर्को हुदैन
शासक अटेरी भए
सडक निर्णायक भैजान्छ ।
किनभने सडक,
सडकपेटीमा सुत्नेहरुको हो
सडक आफ्नो केही नहुनेहरुको हो
सडक श्रमिकमाथि हुने शोषणको सबुत हो
सडकले सर्वहाराहरुले सजाएकोे सपना बुझेको हुन्छ
र बुझेको हुन्छ सत्ताको सर्वसत्तावाद
र जानेको हुन्छ सत्तालाई गलहत्याएर ढाल्न ।
सडक सर्वोच्च बन्छ
जब सडकको भाषा संगठित हुन्छ
सडकले बडेबडे साहेबहरुलाई बक्सदैन
सडकमा निहित शक्तिले
म नै राज्य हुँ भन्नेलाई शुली चढायो ।
र सधैं सधैंका लागि सडकको शक्तिलाई अजम्मरी बनायो ।
त्यसैले
त्यसैले सडक शक्तिहिनहरुको शक्ति हो ।
न्याय चेतनाको उभार भर्ने
सडकको भाषा
सुनौला सन्ततिलाई सु्म्पिनुछ
जसले बडो गर्वका साथ भन्नेछ
मेरो मातृभाषा सडक भाषा हो
सडक भाषा अर्थात विद्रोहको भाषा
सडक भाषा अर्थात प्रतिरोधको भाषा ।













