कार्य सम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिका उत्कृष्ट
धनगढी, । कैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको छ ।
थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार ७८.६९ अंक पाएर डडेल्धुराको अजयमेरु गाउँपालिका नेपालमै पहिलो स्थानमा छ ।
कैलालीमा रहेको १३ वटा स्थानीय तहमध्ये कैलारीले यहाँको स्थानीय तहलाई कार्य सम्पादनमा उछिनेको छ । कैलारी गाउँपालिका कैलालीमा पहिलो स्थानमा रहेको छ ।
गाउँपालिकाले यो स्थान प्राप्त गर्नुमा सबैको उत्तिकै देन रहेको प्रवक्ता कमलप्रसाद चौधरीले बताए । उनले सबैले एकतावद्ध भएर काम गर्दा कार्य सम्पादनमा उत्कृष्ट भएको उल्लेख गरे ।
‘हाम्रो दायित्व होे, त्यसैले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भनेर हामी जनप्रतिनिधि र हाम्रो गाउँपालिका हो, हामीले गर्नुपर्छ भनेर लगनशीलताका साथ राष्ट्र सेवक कर्मचारी, उपभोक्ता समिति सबैले काम गरेका कारण यो उपलब्धी हासिल भएको हो’, उनले भने । ‘जनप्रतिनिधि एकातिर, कर्मचारी अर्कोतिर भएर काम गरेको भए यो उपलब्धी प्राप्त हुने थिएन ।’ उनले आगामी दिनमा कैलारी गाउँपालिकाले मुलुकमै उत्कृष्ट हुने गरी अझ कडा मिहिनेत साथ काम गर्न आवश्यक रहेको औंल्याए ।
कैलालीको धनगढी उपमहानगरपालिकाले ६८.८८ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरेरनगरेको, असार मासन्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरेरनगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरेरनगरेको विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।
आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरेको हो । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।













