कार्यस्थलमा पनि महिलालाई हिंसा
धनगढी । कार्यस्थलमा हुने हिंसाबारे पत्रकार महिलाहरुबिच छलफल तथा भोगाईबारे छलफल भएको छ । ११२ औं अन्तराष्ट्रिय श्रमकि महिला दिवसको पूर्वसन्ध्यामा धनगढीस्थित पत्रकार महिलाहरुको उपस्थितिमा सो छलफल गरिएको हो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी सदस्य उन्नति चौधरीले कार्यस्थलमा हुने हिंसाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन । ‘हरेक कार्यालयमा कार्यरत महिला कुनै न कुनै बहानँमा हिंसा खेप्न बाध्य छन्’ उनले भनिन् –‘बोलाई, लेखाई, चित्र, विभिन्न बहानामा शरिरका अंग छुने, लामो समयसम्म हेरिरहने लगायतका विभिन्न माध्यमबाट कार्यस्थल भित्रै पनि महिलामाथि हिंसा भईरहेको छ ।’
उनले कार्यस्थलमा भोग्नुपरेको हिंसाबारे उजुरी नपरेको कारण धेरै घटनाहरु बाहिर नआएको बताईन् । पछिल्लो अवस्थामा सामाजिक सञ्चाल मार्फात महिलाहरु हिंसा खेप्न बाध्य भएका छन् ।
मर्निङ बेलका प्रकाशक रमा भट्टराईले महिला तथा युवतीले घरदेखि कार्यस्थलमा मात्र नभई बस, फिल्म हल लगायतका भिडभाडमा पनि हिंसा खेप्नु परिरहेको बताइन । उनले भनिन्–‘बसभित्र कोचाकोच हुन्छ । पुरुषले महिलाका अंगमा छुने गर्छन, फिल्महल तथा भिडभाडमा पनि त्यस्तै घटना दोहोरिन्छन । कार्यस्थलमा महिला मात्र नभई पुरुष पनि हिंसामा पर्ने गरेका छन् ।’
उनले कानुनको प्रभावकारी कार्यान्वयन र पीडितले समयमै सम्बन्धित निकायमा उजुरी दिएमा यस्ता घटनामा कमि आउने बताइन् ।
कार्यक्रममा दिनेश एफएमकी प्रवन्धक अमिता कुँवर, पश्चिम टुडेका प्रशासन प्रमुख भुवन जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राम दहित, नेपाल पत्रकार महासंघ कैलाली सदस्य शंकर बोहरा लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला पत्रकारको सहभागिता रहेको थियो ।













