बन्दकर्तामाथि प्रहरीको लाठी चार्ज, दुई जना घाइते
कञ्चनपुर,१६ फागुन । एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दमा महेन्द्रनगरका दुईजना बन्दकर्ता घाइते भएका छन् ।
विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरु आंशिक रुपमा प्रभाव परेको छ । बन्दले सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । धनगढीका मुख्य सहर भने बन्द छ ।
प्रदेशका मुख्य सहर धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपालय लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उता महेन्द्रनगरमा एमसीसी अनुमोदनको बिरोधमा उत्रिएका नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट दुई जना घाइते भएका छन् ।
विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बिरेन्द्र शाहले बताए । उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन्













