स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा

काठमाडौं, २४ माघ । स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी ५ जेठमा सकिँदै छ।

स्थानीय तहको चुनाव एकै चरणमा गर्ने निर्णय भएको एक मन्त्रीले बताए। उनका अनुसार, ३० वैशाख बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने भएको छ।

यसअघि सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले पनि ४ जेठअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिएको थियो।