खप्तड पुगेका पर्यटक चिसोमा कठ्यांग्रिएर रात बिताउन बाध्य

बझाङ, १३ माघ । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र छन्,’ डोटीबाट खप्तड प्रवेशमार्ग झिग्रानामा होमस्टे सञ्चालन गरिरहेका व्यवसायी दीपकबहादुर खड्काले भने, ‘खप्तड घुम्न गएका पर्यटकहरू चिसोले कठ्यांग्रिएर रात काटिरहेका छन् ।’

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यात्रुको सहज आवास सुविधाका लागि निर्माण गर्न लागिएका भवनहरू दुई वर्ष बित्दासमेत बन्न सकेका छैनन् ।

उनले खप्तड राष्ट्रिय निकुञ्जमा चार जना संरक्षण अधिकृतले कार्यकाल सकेर गइसके पनि भवन निर्माणको कामभने जहाँको त्यहीँ हुनु आश्चर्यको विषय भएको बताए । ‘जो वार्डेन आए पनि भवन बनाउन ध्यान दिँदैनन् । सरुवा भएर जाने बेला सुटुक्क म्याद थपेर जान्छन् । भित्रभित्रै के चलखेल भइरहेको छ बुझ्नै गाह्रो छ,’ उनले भने ।

१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले रात काट्न मिल्ने भवनहरू निर्माण गर्न दुई वर्षअघि नै काम सुरु भएको थियो ।

सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २०७६ पुसमा निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित आठवटा भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको थियो ।

निकुञ्जको डोटीबाट आउँदा बास बस्ने ठाउँ बीचपानीमा तीन वटा र खप्तड ब्यारेक नजिक पाँच वटा भवन निर्माणका लागि ठेकेदार कम्पनी टीडीआर एन्ड बीजी जेभीको ठेक्का ०७६ चैतमै स्वीकृत भए पनि लकडाउनका कारण २०७७ असारमा मात्रै सोही वर्ष माघ मसान्तसम्म कार्य सम्पन्न गर्ने सर्तमा सम्झौता भएको थियो ।

विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले तोकिएको समयमा कार्यसम्पन्न गर्न नसकेपछि २०७८ भदौमा निकुञ्ज विभागले ठेक्का सम्झौताको म्याद २०७८ चैत्रसम्म थप गरेको छ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५र७६ मा खप्तडमा सुविधायुक्त भवन निर्माणका लागि विनियोजन गरेको ५ करोडमध्ये टीडीआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि कर बाहेक ४ करोड १३ लाखमा ठेक्का सम्झौता भएको खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुनिल बोहराले जानकारी दिए ।

‘ठेक्काको सुरुमै लकडाउन भयो । त्यही वर्ष कात्तिकबाटै हिमपात पनि भएकाले काम हुन पाएन,’ उनले भने, ‘अर्को वर्ष पनि त्यस्तै भएर काम ढिलाइ भएको हो । अब फाउन्डेसन तयार भइसकेको छ । छिटो काम गर्‍यो भने चैतभित्र सम्पन्न भइहाल्ला भन्ने आशा छ ।’

उनले चैतभित्र काम सम्पन्न नभएमा अर्को पटक म्याद थप हुने नहुने विषयमा विभागले निर्णय गर्ने भएकाले आफूले केही भन्न नसक्ने बताए ।

यता ठेकेदार कम्पनीका प्राविधिक सुनिल कुँवरले भने भवनको डिजाइन नै गलत भएका कारण समय मै निर्माण सम्पन्न गर्न नसकिएको बताए ।

‘भवनको ट्रस्टको डिजाइन नै हिमाली क्षेत्रका लागि अनुपयुक्त हुने खालको रहेछ । हामीले डिजाइन पुनरावलोकनका लागि विभागमा अनुरोध गरेका छौं,’ उनले भने, ‘डिजाइन स्वीकृत नभएका कारण निर्माण कार्यमा ढिलाइ भएको हा ।’ प्राविधिक डिजाइन समयमै स्वीकृत भएर आएमा थपिएको म्यादभित्रै काम सम्पन्न हुने उनले बताए । कान्तिपुरबाट ।