सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, ११ माघ । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ । टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर छ । उक्त रिट निवेदनमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि माघ १७ लाई पेसी तोकेको छ।















