कैलाली एमाले अध्यक्षमा सहमति जुटाउन सकस, चुनाब हुने तयारी

कैलाली, २४ पुस । सुदूरपश्चिममा एमालेको सबैभन्दा धेरै संगठित सदस्य रहेको कैलालीमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति जुट्न सकस भएको छ । वर्तमान अध्यक्ष रतन थापा पुनः अध्यक्षमा दोहोरिने बताइरहेका छन् । त्यस्तै उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षको दाबेदार भएपछि सहमति हुन नसकेको हो ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचनमा तयारी भईरहेको छ ।

एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नरदमुनि रानाले यसअघि नै सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइरहेका थिए । तर, अहिलेसम्म अध्यक्षमा दाबी गरेकाहरूबीच सहमति हुन सकेको छैन ।

कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।