राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिमबाट छ जनाको मनोनयन दर्ता

कैलाली । सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका छ जना राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको गरेका छन् ।

राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले आज प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचानको लागि निर्वाचन आयोगले आज बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । प्रतिपक्षी दल नेकपा एमालेबाट महिला तर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलित तर्फ बैतडीका नरेश विक र खुल्ला तर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

यस्तै गठबन्धनका तर्फबाट भने नेपाली काँग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले मनोनयन दर्ता गरेका हुन् ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन्।

निर्वाचन अधिकृत पनेरुले आज नै उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको निर्वाचन चिह्न प्रकाशन गर्ने कार्यतालिका रहेको बताए ।

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ ।