छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा हुने
कञ्चनपुर, १७ पुस । छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा हुने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन हुने निर्णय गरिएको हो । सम्मेलन तयारीको लागि समाजसेवी जोगराज चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानिय तह समेटिने गरी १३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसिराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्य रहेका छन् ।
थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानिय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रिय सदस्य मोहनप्रसाद चौधरीले बताए ।
जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुनेछ । सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ ।
“थारु समुदायका लेखकले अरुको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन्”, थारु बुद्धिजिवि बलबहादुर डगौराले भने, “सम्मेलनमा थारुशास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्न गहन छलफल हुने छ ।”
साहित्य ज्ञानको विषय, मनोविज्ञान र राजनीतिका सन्दर्भका रुपमा रहेको चर्चा गर्दै उनले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताए । सम्मेलनमा देशभरीका थारु साहित्यकार, बुद्धिजीवि, लेखकको जमघट हुने जनाइएको छ ।













