माओवादीले केन्द्रीय समिति चयन गर्दै
काठकमडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट आज केन्द्रीय समिति चयन गरिने भएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रले शुक्रबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो। प्रतिनिधिले उठाएका प्रश्नको अध्यक्ष दाहालले जवाफ दिएसँगै हलले सर्वसम्मतिले ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित गरेको हो।
आज माओवादीको विधान पारित हुने भएको छ। स्थायी समिति सदस्य देव गुरुङले १२ पुसमा बन्दसत्रमा विधानको मस्यौदा पेश गरेका थिए।
नयाँ विधान पारित भएसँगै निर्वाचन प्रक्रिया शुरू हुने माओवादीको निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए। नयाँ विधानअनुसार, केन्द्रीय समिति चयन हुने भएकाले निर्वाचन प्रक्रिया त्यसपछि मात्रै शुरू हुने उनको भनाइ छ।
माओवादीको नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। त्यस्तै, पदाधिकारी पनि बढाएर १५ पु¥याएको छ।
केन्द्रीय समितिलाई समानुपातिक समावेशी सदस्य संख्या बढाएको माओवादीको भनाइ छ। त्यस्तै, पदाधिकारी समावेशी बनाउने माओवादीको तयारी छ।
माओवादीको आठौं महाधिवेशन ११ पुसमा शुरू भएको थियो। आज केन्द्रीय समिति चयन गरेसँगै सम्पन्न हुनेछ। यसका लागि देशभरबाट एक हजार सात प्रतिनिधि महाधिवेशनमा सहभागी छन्। हिमालखबरबाट ।













