पुलको बजेट अन्तै सार्न खोजिएपछि वडा कार्यालयमा तालाबन्दी
कैलाली, १३ पुस । निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि कञ्चनपुरको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा स्थानीयले मंगलवार तालाबन्दी गरेका हुन् ।
स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजे पछि स्थानीय त्यसैले विरोधमा उत्रिएको स्थानीय जगतराम चौधरीले बताए ।
स्थानीय चौधरीले पुल निर्माणको टेण्डर समेत भइसकेको र तोकिएको स्थानबाट ८ नम्बर वडाको बालुवाघाटमा सार्न खोजिएकाले आफूहरूले कुनै पनि हालतमा सार्न नदिने बताए । तर वडाध्यक्ष अमरसिंह बडायकले विवादको कारण आफूले बुझ्न नसकेको बताए । यद्यपि छलफल जारी रहेको बताउँदै वडाध्यक्ष बडायकले कसैले चाहेर पनि बजेट सार्न नमिल्ने उल्लेख गरे ।
कृष्णपुर नगरपालिकाले पुल निर्माण गर्न ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।
यसैबीच, विवाद मिलाउन भनी रक्सी खाएर पुगेका वडा सदस्य जयबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नशामा मात्तिएर होस गुमाएका वडा सदस्य भण्डारीलाई प्रहरीले वडा कार्यालय परिसरबाट घिसार्दै लगेको थियो ।













