उत्पीडित वर्गको अवाज बुलन्द गर्न खोज पत्रकारिताको आवश्यक : अध्यक्ष चौधरी
कैलाली, १० पुस । उत्पीडित वर्गको अवाज बुलन्द गर्न खोज पत्रकारिताको आवश्यक रहेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । आदीवासी जनजाती पत्रकार महासंघ कैलालीको चौथो अबिधेशनमा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।
अबिधेशनको प्रमुख अतिथि समेत रहेका चौधरीले पत्रकारिताको माध्यमबाट पत्रकारहरुले दैनिक ईतिहास लेख्ने जिम्मेवारी पाएको हुँदा परम्परागत पत्रकारितालाई त्याग गरि खोजी तर्फ ध्यान दिन जरुरी रहेको बताए ।
पत्रकारिता व्यवहारिक र सैद्धान्तिक दुबै तरिकाले अगाडी बढाउन आवश्यक रहेपनि बजारबादमा मात्रै केन्द्रित नभएर सामाजिक मुद्धामा केन्द्रीत भएर अगाडी बढ्न जरुरी रहेको अध्यक्ष चौधरीले बताए ।
देशमा पहिचानकोलागि धेरै आन्दोलन भए, जनयूद्ध, ०६२-०६३ को जनआन्दोलन लगायतको आन्दोलनमा होमिएर थारु समुदाय, जनजाती लगायत उत्पीडनमा परेका वर्गहरुको अवाजलाई सुनुवाई हुन नसक्नुको परिणम टीकापुर घटना घटेको तर्क दिए ।
उनले आदीबासी जनजाती पत्रकारहरुले हरेक तह र तप्कामा आफ्नो पहिचान जोगाई राख्न आदीवासीको भाषा, कला संस्कृति लगायत क्षेत्रमा कलमको माध्यमबाट लडाई लड्न जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सल्लाहकार गणेश चौधरी, सुदूरपश्चिम प्रदेश अध्यक्ष भिमबहादुर चौधरी, नेपाल आदिवासी जनजाति महासंघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्तीमगर, थारु कल्याणकारी सभाका उप–सभापति माधव चौधरी, नेकपा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले मोफसलदेखि केन्द्र सम्मको मिडियालाई समाबेशी बनाउनमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल माओवादीका कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, समाजवादी प्रेस सेन्टर कैलालीका अध्यक्ष लक्ष्मीप्रसाद जोशी, प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्ट, फोनिजका पूर्व अध्यक्ष अनत चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अबिधेशनबाट कैलारी अनलाइनका सम्पादक राम दहितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । यस्तै उपाध्यक्षमा गीता चौधरी, सचिवमा सागर कुश्मी, सह–सचिवमा अनिता चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी रहेका छन् ।

सदस्यमा स्वरुप चौधरी, बनवारी राना, मनिषा थारु, कञ्चन चौधरी, प्रविन चौधरी, दिनेश राना, रामप्रसाद चौधरी र खडक चौधरीलाई चयन भएका हुन् ।
यसैबिच फोनिज कैलालीले धनगढीबाट प्रकाशित थारु भाषाको पत्रिका पहुरा थारु दैनिकलाई एक दर्जन कुर्सी हस्तान्तरण गरेको छ ।













