न्याय माग्दै पालिकामा तालाबन्दी

धनगढी, ८ पुस । कैलालीको जानकी गाउँपालिका(९ का २५ वर्षीय अर्जुन दासको यहि मंसिर ३ गते घाँटी रेटेर हत्या गएिको थियो । हत्या भएको ६ दिनसम्म पनि हत्या आरोपिलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गरेका छन्।

हत्यामा संलग्नलाई (आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत ,उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा०लगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका हुन् । मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए ।

बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएका छन् । गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा पनि पठाइएको थियो । यस कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ ।

घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए । पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।