उच्च अदालतको फैसला कपटीपूर्ण थियो : थारु
कैलाली, ३ पुस । उच्च अदालत दिपायलले टीकापुर घटना मुद्दामा फैसला सुनाएको एक वर्ष पुगेको छ । गत वर्ष पुस २ गते उच्च अदालत दिपायलले रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला गरेको सो फैसलालाई सदर गर्यो । जन्मकैद सजाय नपाएका थरुहट नेता लक्ष्मण थारुलगायतलाई पनि जन्मकैदको सजाय सुनायो ।
उच्च अदालतको फैसला आफूहरू मान्न तयार नभएको बताउँदै थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजकसमेत रहेका नेता लक्ष्मण थारुले त्यसको विरुद्धमा सर्वोच्च अदालतमा अपिल गरेको बताए । तर, सर्वोच्चको ढिलासुस्तीले आफूमाथि अन्याय भइरहेको बताए ।
‘एक वर्षको अवधिमा सुनुवाइ हुनुपर्थ्यो । तर भएको छैन । ढिलासुस्ती उस्तै छ । आलटाल उस्तै छ । यो दुर्भाग्यपूर्ण हो ।’ उनले लाल आयोगको प्रतिवेदन ६ वर्षसम्म लुकाउनुको अर्थ थारुहरू निर्दोष रहेको तर्क दिए । टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्च अदालतले ढिला गरेको आरोप समेत लगाए ।
‘नेता थारुले तत्कालीन सरकारको सेटिङमा उच्च अदालतले गरेको त्रुटिपूर्ण फैसला सच्याउन ढिलाइ गरेको भन्दै चाँडो सुनवाइ गर्न माग गरे । उच्च अदालतका न्यायाधिशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले गरेको फैसला मनोगत, संकीर्ण, कपटी रहेको बताए ।
थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित एक नाबालकको मृत्यु भएको थियो ।













