पर्यटकीय सम्भावनालाई उजागर गर्न साइकल यात्रा

कैलाली,३ पुस । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ३, ४ र ५ गते सम्म साइकल यात्रा चल्ने आयोजकले जनाएको छ ।

साइकल यात्रामा भारतका राइडरहरुको पनि सहभागिता छ । धनगढीदेखि गोदावरी, खानीडाडाँ हुदै डोटीको बुडरसम्म साइकल यात्रा हुने फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरत विक्रम शाहले जानकारी दिए । उनले भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८मा सहभागि रहेको बताए ।

यस्तै नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट साइकल यात्री सहभागि छन् । यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता गर्ने तयारी अध्यक्ष शाहले बताए ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार उद्धघाटन गरेका हुन् ।