पालिकालाई चाँडै हिंसामुक्त बनाउँछौं : अध्यक्ष
हसुलिया, २४ मंसिर । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफ्नो गाउँपालिकालाई चाँडै नै हिंसामुक्त गाउँपालिका बनाउने बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज हसुलियामा आयोजित कार्यक्रममा उनले आफ्नो गाउँपालिका चाँडै नै हिंसामुक्त गाउँपालिका बन्ने बताएका हुन । ‘सबैखाले हिंसा अन्त्य गर्नका लागि नीति तथा कार्यक्रम बनाएका छौं’, कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष चौधरीले भने । ‘त्यो कार्यान्वयन भइरहेकाले अब चाँडै नै हिंसामुक्त गाउँपालिका बन्ने अपेक्षा गरेका छौं ।’
हिंसामुक्त गाउँपालिका निर्माण अभियानलाई सफल पार्नका लागि सहकार्य गर्न चाहने संघसंस्थालाई स्वागत गर्ने अध्यक्ष चौधरीको भनाइ थियो ।
गाउँपालिकाका उपप्रमुख लक्ष्मी सत्गौंवाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष सत्गौंवाले हिंसा सबै खाले विकासको बाधक रहेका कारण हरेक किसिमको हिंसालाई निर्मूल गर्न आवश्यक रहेको बताइन् । ‘यो कार्यमा जो जहाँ छ त्यहिँबाट लागौं’, उनले भनिन् । ‘भौतिक विकासको अर्थ तब हुन्छ, जब मानवीय विकासले सार्थकता पाउँछ ।’ हिंसा अन्त्य नभएसम्म मानवीय विकासले सार्थकता नपाउने उपाध्यक्ष सत्गौंवाको भनाइ थियो ।
कार्यक्रममा वक्तृत्व कला सहभागी भएका विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको छ । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा केही दिन अगाडि विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गरेका र बाँकी १४ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको कैलारी गाउँपालिकाका महिला तथा बालबालिका विकास शाखाका प्रमुख बालकुमारी चौधरीले जानकारी दिइन् । १७ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा राष्ट्रिय मावि विचैपुरका एलिजा चौधरी प्रथम, कृष्ण थापा द्वितीय र ब्राइट स्टार इङ्गलिस स्कुलका रीता चौधरी तृतीय स्थान हासिल गरेका थिए । विद्यार्थीलाई गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष सत्गौंवाले पुरस्कार वितरण गरेका थिए ।
सो कार्यक्रमको अवसर पारेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा विभिन्न तवरले सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल रेडक्रस सोसाईटी एमरेड परियोजना, मर्सिकोर, ओरेक नेपाल, सामाजिक सेवा अध्ययन केन्द्र, समीक्षा महिला बहुउद्देश्यी सहकारी संस्था, पारदर्शी, चेतनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, कालिका कृषि सहकारी संस्था, दलित महिला अधिकार मञ्च लगायत रहेका छन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी, कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । पश्चिम टुडे ।













