कामको खोजीमा भारतको यात्रा : सयौं बेपत्ता, तथ्यांक शून्य
कैलाली, १८ मंसिर । जानकी गाउँपालिका–७ का लोकुन (लोकेन्द्र) डगौरा थारु २९ वर्षको उमेरमा रोजगारीको शिलशिलामै भारत तिर विलाए । उनी हराएको ३३ वर्ष पछि परिवारको सम्पर्कमा आए ।
लोकुनलाई अहिले ६२ वर्ष पुग्यो । घर छोडेर निस्केका ३३ वर्षपछि प्रहरीले उनलाई यहि भदौं १७ गते परिवारसंग मिलन गराई दियो । परिवारले उनीसँग भेट हुने आशा पनि मारिसके थिए । तर मिलन पछि अहिले उक्त परिवारमा खुशी छाएको छ ।
सुदूरपश्चिम प्रदेशका जनताहरु रोजगारीको शिलशिलामा भारता नै धाउने गर्दछन् । दशैं र तिहार सकेर रोजगारकोलागि भारत पलायन हुनेको लर्को नै हुन्छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना दिन नपुग्दै सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेपर्न थालेपछि उनी फेरि भारततिर फर्के ।
कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि रोजगारीको खोज्दै मुम्बईको यात्रा रोजे । उनलाई घरपरिवार छोड्न रहर होईन, रोजगारीको विकल्प खोजेको बताउछन् ।
धनगढीको विशालनगरका दीपक सिंह भारतको राजधानी नयाँदिल्लीबाट निषेधाज्ञाकै बेला घर फर्किएका थिए। तर, सिंहलाई नेपालमा बसेर दुई महिनापनि टिक्न गाह्रो भयो अन्ततः उनी दिल्लीको एक कम्पनीमा रोजगार खोज्न बाध्य भए ।
रोजगारीको लागि भारत जानेहरुलाई न कोरोनाको डर छ, न त चाडपर्वको रौनक । त्यति मात्रै होईन रोजगारकै क्रममा भारत पसेकाहरु वर्षौ वर्ष बेपत्ता हुने क्रमपनि रोकिएको छैन । तर सरकार भने यो सवालमा मौन छ ।
पुनर्वास नगरपालिका–४ घ गाउँकी प्रियंका काफ्लेका बुवा शिवराज काफ्ले १३ वर्षअघि रोजगारीकै लागि भारतको दिल्ली पुगेका थिए । २०६५ सालमा रोजगारीका लागि भारत गएका काफ्ले अहिलेसम्म न फर्केका छन्, न त कसैको सम्पर्कमा नै ।
प्रिंयका आफू ८ वर्षकी हुँदा बुबा घरखर्च जोहो गर्न भनि भारतको दिल्ली गएका हुन् । परिवारले काफ्लेको खोजीका लागि धेरै प्रयास पनि गरे ।
पुनर्वास नगरपालिकाकै वडा नम्बर ५ ग गाउँका प्रताप विक पनि हराएको ३० वर्ष भइसक्यो। रोजगारीका लागि भारतको मुम्बई पुगेका उनी त्यहिबाटै हराएको उनका श्रीमति लाली बिक बताउँछिन्।
श्रीमान हराएपछि दुई वर्षकी छोरीलाई आफैले हुर्काईन् । अहिले छोरी २८ वर्षको भएछ । लालीले भनिन्, ‘पैसा कमाउन गएका पति ३० वर्ष भइसक्दा पनि आउनु भएको छैन, न त खबरै छ। पति ज्युँदा छन् कि मरेका छन् केही अत्तो पत्तो नहुँदा सरकारबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित छुँ ।’ बुढा मुम्बईमा चौकीदारीको काम गर्ने गरेको बताईन् । मुम्बईमा रहेका आफन्तहरूले पनि खोजीकालागि सक्नेजति प्रयास गरे, तर तर भेटिएन् ।
डोटीको शिखर नगरपालिका वडा नम्बर ३ जोरागाउँकी ६० वर्षीया जोगेनी भुलको छोरा चेत भुल हराएको २५ वर्ष पुग्यो । घरमा नौलो मान्छे आउने बित्तिकै छोराको तस्बिर देखाउदै खोजीकार्यकोलागि गुहार गर्ने गरेको सुनाईन् ।
२५ वर्ष अघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत गएदेखि घर फर्केका छैनन्। चेत पैसा कमाउन भन्दै भारतको मुम्बईको यात्रा तय गरेका हुन् । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आएनन् । जोगेनीका अनुसार उनी मुम्बईमा चौकिदारी काम गर्थे। सँगै गएका अरू घर फर्किए, तर उनी त्यहाँबाट बेपत्ता भए ।
२५ वर्षअघि बेपत्ता भएको छोराका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन दिएन । भारतमा हराएका छोरालाई नेपालका प्रहरीले खोजिदेलान् भन्ने उनीहरूलाई लागेन । त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषी कहाँ हेराउने काम मात्रै गरे ।
भारतमा हराएकाहरूको बारेमा तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालका प्रकाश मडैले रोजगारीको शीलशिलामा भारत गएर १० वर्षसम्म बेपत्ता भएकाहरुलाई संस्थाले अनुसन्धानको तथ्यांकामा राखेको बताए ।
उनका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका ५४, पुनर्वास नगरपालिकाका ३७ र डोटीको शिखर नगरपालिकाका १०० जना बेपत्ता छन्। उनले गरेको अनुसन्धानमा सबै रोजगारीका लागि भारत गएकाहरू हुन्।
भारत जाने कामदारका विषयमा अनुसन्धान गर्दा ‘रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरु उतै रमाउने र बस्ने गरेका कारण पनि परिवारलाई हराएको लाग्न सक्छ।’
कतिपय पारिवारिक रूपमा तनाव भोगेर गएकाहरू बेपत्ता भएको तथांकले देखिएको छ। केही नेपालीहरु भारतका विभिन्न जेलमा समेत रहेको हुन सक्ने मडैले बताए । बेपत्ता हुने मध्ये अधिकांश युवा अवस्थामा र बिहे नहुँदै भारत पसेकाहरू छन्।
रोजगारीका लागि भारत जाने र उतै हराउनेको संख्या डोटीमा पनि अत्याधिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दानबहादुर मल्लले बताए । ‘डोटीबाट रोजगारीका लागि भारत जानेहरू अत्याधिक छन्, त्यहाँ गएकाहरू कोही नफर्कने र आफन्तसँग सम्पर्कविहीन हुनेहरु पनि छन्।’
एसपीका अनुसार भारतमा हराएका आफन्तहरुका बारेमा प्रहरीमा रिपोर्ट आउदैन । संघसंस्थाले तथ्यांक सार्वजनिक गरेको छ, तर आफन्तहरुले भारतमा मानिस हराएको भनेर रिपोर्ट गर्न आउने छैनन् । यस्तो अभेलेखीकरण गर्ने निकाय प्रशासन र प्रहरी हो, त्यहाँ पनि हराएकाहरुका घरपरिवारले रिपोर्ट नगर्दा तथ्यांक आधिकारिक छैन ।
सुदूरपश्चिमका नागरिकको लागि रोजगारीको प्रमुख गन्तव्य नै भारत हो। पुस्तौदेखि नै यहाँका नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । निड्स नेपालका सह–कार्यकारी समेत रहेका मडैलेका अनुसार सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालीहरु कामका लागि भारत जाने गरेको विभिन्न बताए ।
सन्धिपश्चात् गोर्खा सैनिकमा भर्ना खुल्नु पनि भारतमा आप्रवासन दर बढेको तथ्यांकले देखाउँछ। तर, हालसम्म पनि भारतमा रोजगारी गर्न जानेलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। तेस्रो मुलुकमा जानेहरुलाई केही समस्या भएमा बीमादेखि लिएर अन्य सेवा सुविधा पाउने गरे पनि भारतमा रोजगारी गर्न जानेहरु भने सरकारी सेवा सुविधाबाट वञ्चित नै छन् ।
सरकारले तेस्रो मुलुक जानेहरुका लागि सरकारले नीति नियम बनाए जस्तै भारतमा कामगर्न जानेहरुको लागि नीति नियम बनाईदिएको भए भारतमा हराएका, अंगभंग भएका तथा मृत्यु भएका कामदारहरुले पनि क्षतिपूर्ति पाउन सहज हुन्थ्यो ।
देश संघियतामा आएपछि २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गर्दा भारतमा चौकीदारीको काम खोज्न जानेलाई सुरक्षित काममा लगाउन पहल प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
उनले भनेका थिए, ‘मैले लामो सयम भारतमा रहेर चौकीदारीको काम गरेको छु, कामको खोजीमा भारत जाने सुदूरपश्चिमेलीको अवस्था, उनीहरुले भोगेका पीडाका बारेमा मलाई राम्रो ज्ञान छ । त्यसैले म सबैभन्दा पहिला भारतमा काम गर्ने नेपालीको तथ्यांक संकलन गरी त्यहाँ उनीहरुले पाउने दुःखको न्यूनीकरण गर्ने छु।’
मुख्यमन्त्रीको घोषणालाई पूर्णता दिन प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मा दियो। मन्त्रालयले तामझामका साथ मुख्यमन्त्री त्रिलोचन भट्टबाट धनगढीको मोहना नाकामा नागरिक सीमा सहायता कक्षको उद्घाटन गरायो।
सहायता कक्षले नेपाल÷भारतीय तथा अन्य विदेशी नागरिकहरुका लागि आवागमनमा आइपर्ने विभिन्न किसिमका समस्याका बारेमा सहयोग प्रदान गर्ने, सीमा नाकामा आवत जावत गर्ने नेपाली तथा विदेशी नागरिकहरुको तथ्यांक संकलन गर्न कार्यमा सहयोग गर्ने, मानव बेचबिखन, सीमा क्षेत्रमा हुने अवान्छित गतिविधि, लागू औषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसार पसार र सरुवा रोग नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने तथा विदेशमा रोजगारी गर्ने नेपाली नागरिकका लागि भैपरी आउने जोखिम न्यूनीकरण गर्न जीवन बिमा व्यवस्थापन र अन्य कार्यका लागि आवश्यक सचेतना र सहयोग प्रदान गर्ने उल्लेख छ।
सुदूरपश्चिमका धेरै नागरिकको रोजगारीका लागि भारत जाने नाका त्रिनगर भन्सार गौरीफन्टा सीमा नाका हो। सधैँ जसो आउजाउ गर्दा सीमामा यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता यथावतै छ। तर, यो नाकाबाट कति गए, कति आए अवस्था के छ भन्ने यकिन तथ्यांक सरकारसंग छैन् ।













