काँग्रेस अधिबेशनः सुदूरपश्चिममा मतदान शुरु, ३० प्रतिशत मत खस्यो

कैलाली १८ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा भईरहेको छ ।

दुई दिन देखिको छलफलमा सहमति जुटन नसकेपछि संस्थापन पक्षबाट डोटीका नेपाली कांग्रेस नेता वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका नारायण दत्त मिश्र विच सभापतिमा प्रतिस्पर्धा भईरहेको छ ।

दुबै पक्षले डोटीका वीरबहादुर बलायरलाई सर्वसम्मत प्रदेश सभापति बनाउनुपर्ने भन्दै छलफल चलाएका थिए। ‘तर त्यसमा सहमति हुन सकेन, कैलालीका नर नारायण शाह (मनु)ले सभापतिमा उमेदवारी नदिए, अरु कसैलाई पनि स्वीकार गरिँदैन भन्दै मिश्रले अडान लिएपछि सहमति हुन नसकेको हो,’ एकजना महाधिवेशन प्रतिनिधिले भने।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी (बैतडी) र जनक चौधरी (कैलाली), महामन्त्रीमा नरनारायण शाह (कैलाली) र मेघराज खड्का (अछाम), सह(महामन्त्रीमा अम्बिका चलाउने (अछाम), चिन्तामणी भट्ट (कञ्चनपुर) र गोपालदत्त भट्ट (कञ्चनपुर) उम्मेदवार भएका छन्।

त्यस्तै संस्थापन इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ। उक्त पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी दिए ।

५१ जना सदस्य पदका लागि १२२ जनाको उम्मेदवारी परेको छ। निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो । सुदूरपश्चिममा नेपाली काँग्रेसका एक हजार २२ मतदाता संख्या छ । दिउसो १२:५२ बजे सम्म ३० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट बिहीबार सातवटै प्रदेशको उद्घाटन गरेका थिए।