पञ्चोदय माविको १२ कोठे पक्की भवनको शिलान्यास
धनगढी, १७ मंसिर । धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा १२ कोठे भवन निर्माण कार्य सुरु भएको छ ।
भवनको धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बमले शिलान्यास गरे ।
दुई करोड २४ लाख रुपैयाँमा १२ कोठे भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बमले बताए । ‘विद्यालयमा विद्यार्थीको चाप बढी र कक्षा कोठाको अभाव छ ।

हामीले वैठक बसी धनगढी उपमहानगरपालिकालाई भवनको लागि अनुरोध गरेका थियौं’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बमले भने, ‘उपमहानगपालिकाका नगर प्रमुख नृपबहादुर वड्को अध्यक्षतामा गत वर्ष पुस १४ गते बसेको ५६ औं बैठकले प्राथमिकतामा राखेर उपमहानगरपालिकाको बार्षिक कार्यक्रममा समावेश गरेर नेपाल सरकारबाट पाउनुपर्ने विशेष ससर्त अनुदानका लागि राष्ट्रिय योजना आयोगमा माग गरेर विद्यालयमा आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गरीएको हो ।’
‘अझै पनि भवनको अभाव छ’ अध्यक्ष बमले भने, ‘बिद्यार्थीको चाप बढी छ भवन अभावन नै छ, सबै तहका सरकारसंग भवन बनाइदिन अनुरोध गर्दछु ।’ बमले भने, ‘१२ कोठे भवनका लागि पहल गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
बि.स. २०२२ सालमा स्थापना भएको विद्यालयमा एक हजार सात सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए ।
विद्यालयमा दृष्टिबिहीन, ईलेक्ट्रिक डिप्लोमा, ईलेक्ट्रिक सव ओभरसियरका साथै अंग्रेजी माध्यममा समेत पढाइ हुने गरेको छ ।













