सुदूरपश्चिममा सात जनाको उम्मेदवारी घोषणा
कैलाली, १६ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्व राजदूत र पूर्व राज्यमन्त्री सहित सात जनाले उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार धनगढीमा प्रदेश अधिवेशन प्रारम्भ हुन लागेसँगै सात जनाले उम्मेदवारी घोषणा गरेका हुन्।
पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनमा अछामका पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, बझाङका पूर्व राजदूत अर्जुनजंगबहादुर सिंह, कैलालीका सभापति नरनारायण शाह ‘मनु’, हिमबहादुर रावल र डोटीका पुष्पकुमार शाही, कञ्चनपुरका नेता गोपालसिंह गुरुङ र डडेल्धुराका गोविन्द राज बोहराले उम्मेदवारी घोषणा गरेका छन्।
दुई पटक कैलालीको सभापति भएका मनुले आफूसँग जित्नका लागि पर्याप्त मतसङ्ख्या रहेको दाबी गरेका छन्। कैलालीका अधिकांश प्रतिनिधिको समर्थन आफूलाई रहेको र अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा समर्थक प्रतिनिधिहरू रहेको उनको भनाइ छ।
यस्तै, बझाङबाट दुई पटक सांसद भइसकेका पूर्व राजदूत सिंहले प्रदेशमा कांग्रेसलाई बलियो बनाउन सभापतिको उम्मेदवार बन्न लागेको बताए।
अछामबाट दुई पटक सांसद भइसकेका पूर्व राज्यमन्त्री शाहले पार्टीका वरिष्ठ तथा समकालीन नेता र युवासँग सरसल्लाह गरेर सभापतिमा उम्मेदवारी दिन लागेको बताए। केन्द्रीय तहका नेताहरू कोही प्रदेश सभापतिमा उम्मेदवार बनेको खण्डमा बाहेक आफू पछाडि नहट्ने उनको भनाइ छ।
कार्यकर्तालाई उद्यमशीलतासँग जोड्न आफूले उम्मेदवारी दिन लागेको कैलालीका नेता रावलको भनाइ छ। उनले १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए। सुदूरपश्चिमका कांग्रेसलाई बलियो बनाउन आफू सभापतिको उम्मेदवार बन्न लागेको डोटीका नेता शाहीको भनाइ छ।
आज धनगढीमा प्रारम्भ हुन लागेको प्रदेश अधिवेशन तीन दिनसम्म चल्नेछ। अधिवेशनले प्रदेशमा पहिलो पटक कांग्रेसको नेतृत्व चयन गर्नेछ।













