‘बाजुराको संकटासन्न समुदाय खोलाको पानी खान बाध्य’

कैलाली, १४ मंसिर । बडिमालिका नगरपालिका स्थित बाजुराको संकटासन्न समुदाय खोलाको पानी खाना बाध्य भएको बताउँछन् । सोहि पालिकाका ५७ वर्षीया गंगा सुनारले धनगढीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भनिन् ‘बस्ने घर छैन, शरीर ढाक्ने फाँटो छैन । खाने अन्न छैन, तर हाम्रो लागि कहाँ छ सरकार ।’ उनले पीडा पोख्दै २ छाककोलागि दिनभरी मजदुरी गर्दा समेत आफ्नो पारिश्रमिकको लागि हाँत जोर विन्ति गरेर पैसा माग्नु पर्ने अवस्था रहेको बताईन् ।

यूएनडीपिको आयोजनामा संकटासन्न व्यक्ति र समुदायका लागि स्थानीय तह सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने गरेका भूमिका र व्यवस्थाबारे छलफल कार्यक्रममा सहभागि भएको सुनारले पीडा पोख्दै भनिन् ‘गाउँमा धेरै योजना आएको सुनाइन्छ तर हामीले कम्मरमा कोदोको रोटी बाँधेर दिनभरी काम गर्दा पनि भोकभोकै बस्नु परेको छ ।’

नेपालमा तीन तहका सरकार छन् । गरिबी निवारणको नाममा वार्षिक अर्बौ रुपैयाँ खर्च हुँदै आएको छ । तर विकट क्षेत्रका अधिकांशले अहिले पनि खान, बस्न र शरीर ढाक्नकै लागि धेरै संघर्ष गर्नुपरिरहेको छ ।

स्थानीय पालिकाले मानवीय विकाससंगै आर्थिक जीविकोपार्जनलाई ध्यान नदिन संकटासन्न समुदाय थप समस्या भोग्नु परेको बताउँछन् । कार्यक्रममा बाजुराको जगन्नाथ गाउँपालिका, बडिमालिका कैलालीको टिकापुर लम्कीचुहा र जानकी गाउँपालिकाका अधिकांश क्षेत्रका स्थानीय गरिबीको चपेटा रहेको सहभागीहरुले बताए ।

बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता कुमारी बुढा (विष्ट) ले आर्थिक रुपमा विपन्न समुदाय, गरिबीको रेखामुनि रहेको वर्गका पीडा र भोगाइहरुलाई सम्बन्धित पालिकाले हेर्नुपर्ने बताईन् ।

संकटासन्न व्यक्ति र समुदायले भोग्नु परेको पीडा र स्थानीय पालिकाले ल्याएको योजनामाथि छलफल गर्न कार्यक्रमको आयोजना गरेको युएनडीपी सुदूरपश्चिम प्रदेशका परियोजना संयोजक सतिस पाण्डेले बताए ।