एमाले महाधिवेशन : देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक

चितवन, १० मंसिर । एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।

एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे ।

“कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र धु्रवीकरण अपरिहार्य छ”, उनले भने “विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।” राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धरणा राखे । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको बताए । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उनको भनाइ थियो । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताए । उनले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताए ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”