म प्रधानमन्त्रीभन्दा कम छैनः दाहाल
कैलाली, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्देशन दिन चुनाव हारेका नेताहरू सम्मिलित उच्चस्तरीय समितिको आलोचना भइरहेका बेला दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
बुधबार कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने “‘हुन त अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन।”
सरकारलाई निर्देशन दिन २२ कात्तिकमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको सदस्य रहेका दाहालले प्रधानमन्त्री नभए पनि सरकारले आफूले जे चाह्यो त्यही निर्णय गराउन सफल भएको सन्दर्भमा यस्तो धारणा राखेका हुन्।
दाहाललकै पहलमा २०७४ को चुनावमा पराजित भएका कांग्रेस नेताद्वय रामचन्द्र पौडेल र कृष्ण सिटौला तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको समिति गठन भएको छ।
विश्लेषकहरूले भने मतदाताले तिरस्कार गरेका नेताहरूले सरकारलाई निर्देशन दिनु उचित नभएको बताउँदै आएका छन्। हिमालखबरबाट ।













