मृत्यूसंग १६ घण्टाको लडाई….

कैलाली । सुदूरपश्चिमको राजधानीमा अवस्थित सेती प्रादेशिक अस्पताल प्रदेशभरिका जनताको ज्यान जोगाउने मन्दिर हो । तर यहि मन्दिरको पुजारीकै रुपमा रहेका डाक्टरहरु हरेक चाडवाडको बेला घर विदामा बसिदिदा यहाँका जनता मृत्यूसंग लड्न बाध्य हुन्छन् ।

कैलालीको गोदाबरी नगरपालिका वडा नं. ८ फलपुरका ३४ वर्षीया टीका चौधरी कात्तिक १८ गते अर्थात लक्ष्मी पुजाको दिन विरामी भई अस्पताल पुगिन्, तर त्यहा गाईनोलोजिस्ट डाक्टर विदामा थिए । जुन कारण उनी नवजात शिशु गुमाउन पुगिन् । उनको उच्च रक्तश्रावको अवस्था हेर्दा आमालाई पनि बचाउन सकिएला कि नाई भन्ने परिवारमा ठूलो चिन्ता थियो ।

सबैको घरमा दीपावलीको रमझम, सरसफाई, लक्ष्मी भित्रियाउने खुशीयाली छाएको बेला टीका मृत्यूसंग यूद्ध लडिरहेकी थिईन् । टीकाको श्रीमान माधब चौधरी भन्छन् ‘टीका साढे सात महिनाको गर्भवति थिईन् । एक हप्ता अगाडी नियमित चेकजाँच गराईन् ।’ उनका अनुसार नियमित जाँचमा बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था समान्य नै थियो ।

लक्ष्मी पुजाको दिन विहान ४ बजे टीकाको विपि हाई (उच्च रक्तचाप) बढ्यो, जसको कारण पाठेघरबाट उच्च रक्तश्राव हुन थालेपछि उनलाई परिवारले विहानै सेती प्रादेशिक अस्पताल धनगढी ल्याइयो । टीकालाई उच्च रक्तचाप भएको थहाँ भएन, बरु बच्चा नै जन्मिन थाल्यो कि भनेर खुशी भएर अस्पताल पुगेका हुन ।

उनी भन्छिन् ‘अस्पताल पुग्दा डाक्टर दिपावली मनाउन विदामा बसेका थिए, नीजि अस्पतालका डाक्टरहरुसंग पनि गुहार मागे तर गाईनोलोजिस्ट डाक्टर फेला परेनन्। त्यो दिन सेती प्रादेशिक अस्पतालमा २२ जना सुत्केरी महिलालाई एउटा मात्रै नर्सले सेवा दिईरहेका थिईन् ।’

‘हामी विहान ५ बजे अस्पताल पुगेका थियो, डाक्टरको पर्खाईमा दिउसो १० बज्यो । त्यसपछि थहाँ पायो डाक्टर विदामा छन् ।’ उनको नियमित सम्पर्कमा हुने डाक्टर खग्रेन्द्र भट्टको नीजि मेडिकलमा गएर भिडियो एक्सरे गराईयो । त्यो दिन डा. खगेन्द्र पनि विदामा थिए ।

डिउटीमा खटिएका स्टाप नर्सले भिडियो एक्सरे हेर्दा टीकाको प्रेसर बढेर नसा च्याटिएको बताईन् । बच्चाको साल रगतले भरिएको थियो, अवस्था एकदमै नजुक भएकोले तुरुन्तै अप्रेसन गर्नुपर्ने नर्सको भनाई थियो । टीकाको श्रीमान आत्तिए । उनीहरु श्रीमान र श्रीमति दुबै जना छोरी जन्माउने चहानले बच्चा जन्माउने तयारमा जुतेका थिए । पहिलो सन्तान छोरो हो । अहिले उनीहरुको छोरा ११ वर्षको भएछ । यो पटक छोरी नै हुन्छ भनि ढुक्क भएर श्रीमान श्रीमति बिच खुशी सतासात हुन्थ्यो । उनीहरुको अनुहारमा बेग्लै खाले चमक देखिन्थ्यो तर एका एक लक्ष्मीको बाससंगै उनीहरुको कोख लुटियो ।

कोख जोगाउन ठूलो लडाई नै लड्नु पर्यो । प्रादेशिक अस्पतालमा डाक्टर नहुदा टीकालाई दिउसो १२ बजे कोहलपुर मेडिकल कलेजमा रेफरमा गरियो । धनगढीदेखि कोहलपुर पुग्दा साढे ३ बज्यो । तर त्यहाँ पनि गाईने डाक्टर घर विदामा भएकोले त्यहाँबाट नेपालगन्ज रेर्फर गरियो । त्यतिन्जेल टीका सिकिस्ट भईसकेका थिईन् । बाँच्छु भन्ने आशा पनि मारिसकेका थिईन् ।

माधवका अनुसार नेपालगन्ज साँझा ५ बजे पुगेपछि गाईनोलोजीस्ट डाक्टर पुर्णिमा राईले तुरुन्तै अप्रेसन थेटरमा लगेर उपचार शुरु गरिन् । राती आठ बजे टीकालाई अप्रेसन थेटरबाट बाहिर ल्यायो । अप्रेसन पनि सफल भयो । साढे १६ सय ग्रामको बच्चाको जन्म भयो । छोरी जन्मिदा माधब दुखसंगै खुशीको आँशु झारे । त्यो खुशी धेरै समय टिकेन । बच्चाको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेकोले एनआइसियूमा राखियो । ७२ घण्टा पछि बच्चाले नयाँ संसारलाई त्याग गरिन ।

माधबले चाडवाडमा सबै डाक्टर विदामा बस्दा विरामीको ज्यान जोखिममा हुने गरेको गुनासो समेत गरे । उनले भने ‘श्रीमतिको अवस्था देख्दा बचाउन सक्छु भन्ने आशा नै मरिसकेको थियो । रोगले चाडवाड हेर्दैन डाक्टर विदामा जाँदा विकल्प छोड्नुपर्छ, एउटा डाक्टरको हातमा कयौंको सास अडिएको हुन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरका आमाहरुलाई जोगाउन गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने सम्बन्धि कार्यविधि, २०७५ पनि पारित गरेको छ । तर सूचना अभावले तराईका महिलाहरु उक्त कार्यक्रमबारे बेखबर छन् । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका प्रवक्त नरेन्द्र कार्कीका अनुसार उक्त सेवा पहाडी जिल्लाका अप्थ्यारोमा परेका सुत्केरी तथा गर्भवति महिलाको लागि मात्रै रहेको बताउँछन् । जुन कारण प्रदेशका धेरै महिला छिटो छरिटो उपचार पाउँन नसक्दा बच्चा या सुत्केरी तथा गर्भवति आमाको अकालमै ज्यान गईरहेको यर्थात हो ।

सरकारले हेलिकप्टर चार्टरबाट सुत्केरीको उद्धार गर्नु स्थानीयका लागि खुशीको विषय बनेको छ । सुत्केरीर गर्भवति अवस्थामा जोखिममा परेकाहरुलाई तत्काल उद्धार गरि मृत्यू हुनबाट जोगाउनुका साथै सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सेवाको प्रत्याभूत गराउन प्रदेशको दयित्व पनि हो । तर यसरी सेवामै विभेद गर्नु भनेको अपराधको पराकाष्ट हो ।

सुदूरपश्चिम प्रदेशको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ। जहाँ कैलालीलाई सुगम मानेर प्रदेश सरकारले हवाई उद्धारकोलागि मौन छ । कैलालीमा २०७५÷७६ मा ५ जनाको मृत्यु भएको थियो भने त्यो संख्या २०७६÷७७ मा आएर २ जनाले बढेर ७ जना पुगेको थियो । यस्तै आव २०७७÷७८ मा बढेर १० जना पुगेको छ । कैलालीमा गत आवमा मात्रै १० जना सुत्केरी महिलाले अकालमै ज्यान गुमाए ।

त्यस्तै गत आवमा कञ्चनपुर र बैतडीमा ३÷३ जना सुत्केरी महिलाले ज्यान गुमाएका थिए। बझाङ र डडेल्धुरामा २ जना, बाजुरा, डोटी र अछाममा १÷१ जना सुत्केरी महिलाले ज्यान गुमाएका थिए। दार्चुलामा भने सुत्केरी तथा गर्भवति महिलाले ज्यान गुमाएको तथ्यांक उल्लेख छैन ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आव २०७५÷७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६÷७७ मा बढेर १९ पुगेको छ। २०७७÷७८ मा २३ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन् ।

‘प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा हरेक वर्ष गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको संख्या बढ्दो छ,’ सुरक्षित मातृत्वसम्बन्धी काम गर्ने गैर सरकारी संस्था सोर्स नेपाल डोटीका कार्यकारी निर्देशक लालबहादुर बिकका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीको तथ्यांक हेर्दा हरेक वर्ष सुत्केरीको मृत्यु हुने क्रम बढ्दो छ । सुदूरपश्चिमकोको लागि यो डरलाग्दो अवस्था हो। पीडा सुन्ने र देख्ने भन्दा भोग्नेलाई बेग्लै अनुभूति हुन्छ । त्यसैले सरकार यहाँका जनताको पीडालाई हृदयदेखि महशुस गर ।