प्रदेश सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने तयारी

धनगढी,६ कात्तिक । सुदूरपश्चिम सरकारले शनिबार (आज) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने जनाएको छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा हेलिकोप्टरमार्फत राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

उनका अनुसार प्रदेश सरकारले क्षतिको विवरण संकलन गरिसकेको छ । एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरिसकेको बताईन् ।
आफ्नै तरिकाले राहत बाँड्दा कसैले पटक(पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या निम्तिरहेकोले यो पटक सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्ने बताईन् ।

वास्तविक पिडितले राहत पाउनुपर्छ, अब सरकारसंग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराने हो । रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसलेनै दिएको हो भन्छौँ । अन्य जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउछ जनतालाई भनिदिन्छौँ मात्र एकद्वार प्रणाली भए सबैले पाउने र सहजपनि हुनेछ । मन्त्री जोशीले भनिन् ।

आईतबारदेखि आएको वर्षाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परि ४३ जनाको ज्यान गएको छ , भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् ।