कैलारीमा तीन करोडको खाद्य ब्यांक स्थापना गर्ने
कैलाली, ३ कात्तिक । कैलालीको कैलारी गाउँपालिकाले बाढी प्रभावितका लागि तत्काल तीन करोडको खाद्य ब्यांक स्थापना गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाढीले धानबालीमा क्षति पुगेकाले खाद्यान्न अभाव हुन नदिन खाद्य ब्यांक स्थापना गर्ने निर्णय गरेको हो।
विकास बजेट कटौती गरी तत्काल तीन करोड रकम कोषमा दाखिला गरिने अध्यक्ष चौधरीले बताए। खाद्य ब्यांक कोषमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले आफ्नो एक दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि भएको उनले बताए।
बाढी र डुबानले स्थानीय बासिन्दा मर्कामा परेकाले चालू आर्थिक वर्षमा गाउँपालिका तथा वडा कार्यालयबाट दिइने सिफारिशमा शुल्क नलिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए। त्यस्तै, गाउँपालिकाले हिउँदे बालीमा किसानलाई अनुदान दिने भएको छ।













