सुदूरपश्चिममा वर्षासँगै आएको बाढीपहिरोमा परी सातको मृत्यु

धनगढी, २ कात्तिक । सुदूरपश्चिम प्रदेशमा प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् । यस्तै पहिरोमा परेर डोटीमा २ जना तथा डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको तथा डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थि र ६५ वर्षिया नर्मदा देवी शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा बाढी पहिरोमा परेर ५ जना घाइते भएका छन् । डोटीमा तीन, डडेल्धुरामा दुई जना घाइते भएका छन् ।पहिरोका कारण बझाङ, डोटी र डडेल्धुरामा गरेर ६ घर भत्किएका छन् । बझाङमा तीन, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएका छन् ।