कर्णाली र महाकाली नदीमा पानीले खतराको तह पार

धनगढी, २ कात्तिक । लगातार परेको पानीले महाकाली र कर्णाली नदीले खतराको तह पार गरिसकेको छ । डडेल्धुरामा महाकाली र कैलालीको उत्तरी क्षेत्रमा कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कंचनपुरमा पनि महाकालीको बहाव तीन लाख क्युसेक नाघेको छ। यस्तै महाकाली र कर्णाली नदी अन्तर्गत पर्ने बैतडी, डडेल्धुरा, डोटीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ।

भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।