दार्चुलाको तिंकरमा भारी हिमपात
दार्चुला, १ कात्तिक । दार्चुलाको तिंकरमा भारी हिमपात भएको छ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकरमा भारी हिमपात भएको हो ।
आइतबार रातीबाट भएको वर्षाका कारण तिंकर गाउँमा ३ फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । तिंकर क्षेत्रमा सोमबार बिहानैबाट हिमपात भइरहेको उनले बताए ।
चिसोका कारण खानेपानीको पाइप जाम भएर पिउने पानीको समेत समस्या हुन थालेको स्थानीयले बताएका छन् । तिंकरमा हिमपात भएपछि सदरमुकाम खलङ्गा लगायतका स्थानमा चिसो समेत बढेको छ।
ब्याँस गाउँपालिका–१ तिंकरमा सौका समुदायको बसोबास रहेको सो क्षेत्रमा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर भएको छ । अहिले पनि तिंकरमा हिमपात जारी रहेको जनाइएको छ । पश्चिमी वायुका कारण वर्षा भएपछि दार्चुलामा यस वर्षको पहिलो हिमपात भएको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टले बताए । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला , बैतडी, डडेलधुरा, डोटी आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको छ ।
हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ । त्यसैको कारण हाल देशको अधिकांश स्थानमा र सुदूरका पुरै जिल्लामा पानी परेको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो एक सूचना जारी गर्दै महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको थियो ।
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा हिजो साँझ ७ बजे देखि परेको पानी अहिले पनि जारी छ । ब्यास गाउँपालिका र अपि हिमाल गाउँपालिकामा ३ फिट भन्दा बढी हिमपात भएको ब्यास गाउँपालिका वडा न ४ का स्थानीय पदम राज भट्टले बताए । पश्चिम टुडेबाट ।













