श्रीमानको हत्या आरोपमा श्रीमति र एक यूवालाई सार्वजनिक
धनगढी, ३१ असोज । कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमति र एक यूवकलाई प्रहरीले सार्वजनिक गरेको छ।
हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका(७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर २५ वर्षीय रमेश चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको बताए ।
‘रमेश आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ। सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’
बिष्णु र अमृताको नाममा मृतकका आफन्तले आइतबार नै प्रहार कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा दुवै जना बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको छ ।
शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका रमेश बिहान मृत अवस्थामा फेला परेका थिए ।













