विभिन्न मुद्धाका ७ जना फरार व्यक्तिहरु पक्राउ

कैलाली, १७ असोज । कैलाली जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्धामा फरार रहेका ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नं. १ बस्ने बिनोद चौधरी रहेका छन् । जवजस्ती करणी गरेको अभियोगमा निजलाई सम्मानित कैलाली जिल्ला अदालतले ३ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । निज २०७५/०५/२० गतेदेखि फरार रहेका थिए ।

त्यसैगरी पक्राउ पर्नेमा कैलाली जिल्ला साविक कोटातुल्सीपुर गाविस वडा नं. ४ हाल बर्दगोरिया गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अशोक चौधरी रहेका छन् । जबरजस्ती करणीको कसूरमा निजलाई सम्मानित कैलाली जिल्ला अदालतले ३ बर्ष कैद सजायको फैसला गरेको थियो । निज २०७२/०३/२१ बाट फरार रहेका थिए ।
त्यसैगरी सम्मानित कैलाली जिल्ला अदालतबाट लागू औषध मुद्दामा मिति २०६६/०१/१२ गते रु.५००/– जरिवाना भई फरार रहेका कैलाली जिल्ला धनगढी उप–महानगरपालिका वडा नं. १ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको छ ।

अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरु (१) जिल्ला कैलाली धनगढी उप–महानगरपालिका १७ वस्ने बर्ष १८ को अमन चौधरी (२) सोही स्थान बस्ने बर्ष २९ को कृष्ण राना (३) सोही स्थान बस्ने बर्ष १८ अभिषेक चौधरी र (४) सोही स्थान बस्ने बर्ष ३० को बब्लु राना रहेका छन् ।

२०७८/०४/०८ गते निजहरुले गौरीगंगा नगरपालिका वडा नं. ६ मा विना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी निजहरुका विरुद्द वन ऐन, २०७६ को दफा ५८(२) बमोजिम सम्मानित कैलाली जिल्ला अदालतबाट पक्राउ अनुमती लिएको थियो । आवश्यक कानुनी कारवाहीको लागि निजहरुलाई डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको छ ।