उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन

कैलाली, १७ असोज । कैलालीको कैलारी गाउँपालिका–८ उदासीपुरमा उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुरा चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरेका हुन । यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी पनि उद्घाटन गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सहज बनाउने उद्देश्यका साथ उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो फार्मेसीसमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।

उनले प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसीसमेत सञ्चालन भएकाले सो क्षेत्रका जनतालाई उपचारमा सहज हुने बताए । सोही अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष चौधरीले वडा नम्बर ८ का वडा अध्यक्ष दुःखीराम कठरियालाई एम्बुलेन्स हस्तान्तरण गरे । सो एम्बुलेन्स गाउँपालिकाको कार्यालयले खरिद गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी भने रिक्त रहेको जनाइएको छ । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको कतिपय
उपकरण सञ्चालन गर्न सकिएको छैन । भवन उद्घाटनको अवसरमा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि, विषयगत शाखाका कर्मचारी, भलमन्सा, स्थानीय र विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।