मौसम सक्रिय भएपछि किसानलाई पाकेको धान भित्र्याउन हम्यहम्य
कैलाली, १५ असोज । कैलालीमा असोजको दोस्रो सातामा पनि मौसम सक्रिय भएपछि यहाँका किसानहरुलाई पाकेको धान भित्र्यायन हम्यहम्य भएको छ ।
भजनी नगरपालिकाका रामबहादुर चौधरीले १० बिघामा धानखेती गरेका छन्। असारमा रोपेको धान असोज महिनामा भित्र्याउनुपर्ने हो । तर दोस्रो साता सम्मापनि मौसम सक्रिय भएपछि धान पाकेर खेतमै कुहिन्छ कि भन्ने किसानलाई चिन्ता हुन थालेको हो ।
यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसममा सुधार नभएका कारण किसानलाई हम्य हम्य भएको हो । कैलालीका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ। हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन्। अहिले दैनिकजसो वर्षा हुने गरेकोले वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने भएको छ ।
टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमिनमा धानखेती गरेका छन्। दिनमा मौसम सफा भएपछि उहाँले केही धान काट्नुभयो तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘दिनमा घाम लाग्छ सुक्छ। राति पानी आउँछ फेरि भिजाउँछ’, रतिराम भन्छन्, ‘काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो। मौसम सफा हुने कुनै छाँटकाँट छैन।’
टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिघा जमिनमा धानखेती गरेका छन्। लामो समयदेखि कृषिमा लागे साउद विगतका वर्षमा यतिबेला सबै धान भित्र्याइ सक्थे। तर यो मौसमले साथ नदिए खेतमै धान नष्ट हुन बताउँछन् ।
धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बीउ उत्पादनका लागि ४५ हेक्टरमा बिज वृद्धिका लागि धानखेती गरेको छ। बीउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन नहुने सहकारीका अध्यक्षसमेत रहेका साउद बताउँछन् ।
समयमै भित्र्याउन नसके धान कालो हुने र बीउका लागि उपयुुक्त नहुने भएकाले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ता व्यक्त गरे ।













