लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्यो
काठमाडौं, १५ असोज । लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढेको उल्लेख गर्दै एक कार्यशालाका सहभागीले चिन्ता जनाएका छन्।
सञ्चारिका समूहले काठमाडौंमा आयोजना गरेको ‘विभेदपूर्ण लिङ्ग छनोट’ सम्बन्धी कार्यशालाका सहभागीले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन्। झन् लिङ्गको पहिचान गरेर छोरा भए जन्म दिने र छोरी भएमा गर्भपतन गर्ने अपराध बढेको उनीहरूले बताए ।
कार्यक्रममा बोल्दै महिला विरुद्ध हुने विभेद उन्मूलन समिति (सिड)की उपाध्यक्ष वन्दना राणाले विभिन्न अध्ययनका अनुसार, नेपालका १२ जिल्लामा छोरीको अनुपातमा छोराको जनसङ्ख्या अधिक भएको बताइन्। “गर्भवती महिलामध्ये ७७ प्रतिशतले गर्भावस्थामा अल्ट्रासाउन्ड गराउने र लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्ने अपराध रोकिएको छैन,”
उनका अनुसार, अहिले छोरीको भन्दा छोराको सङ्ख्या बढदै गएको छ। एक सय छोरी जन्मँदा एक सय ६ जना छोरा जन्मिरहेको तथ्याङ्क रहेको उल्लेख गर्दै राणाले भनिन्, “एशियाका छोरीभन्दा छोराको चाहना राख्ने देशहरूमा पनि नेपाल शीर्ष स्थानमा छ।” यो महिलाको चाहनाभन्दा पनि पुरुष प्रधान समाज, पितृसतात्मक सोच, अंश र वंशका लागि छोरा नै चाहिने गलत मानसिकताको परिणाम भएको उनको भनाइ थियो।
त्यस्तै, अधिवक्ता सोनाली रेग्मीले गर्भपतनको मुख्य कारण महिलाको स्वतन्त्र पहिचान नस्विकार्नु भएको बताइन्। अझै पनि आमा, श्रीमती, दिदी, बहिनीभन्दा अलग पेशागत पहिचान स्विकार्न नसकिएको बताउँदै उनले भनिन्, “नागरिकता पनि आमाको नामबाट नदिने भन्ने व्यवस्था यसैको प्रतिरूप हो।”
लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। तर, कानून भएर पनि यस्तो अपराध गर्ने वा गराउनेलाई पहिचान गरी कारबाही गर्न नसकिएको अधिवक्ता रेग्मीले गुनासो गरिन्।
सञ्चारिका समूहकी अध्यक्ष नितू पण्डितले यसमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले यो विषय उजागर गर्न र राज्यलाई घचघच्याउन सञ्चार माध्यमलाई अपील गरिन्। हिमालखबरबाट ।













