चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडौं १३ असोज । युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई बुधबार पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका ब्युरोले जनाएको छ ।

यस्तै सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पनि पक्राउ परेका ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।